काठमाडौं, भदौ २० । भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिएको छ।नेपाली सेनाका अनुसार शुक्रबार साँझ ७ बजेसम्म प्रभावित विभिन्न क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार, स्वास्थ्य सेवा, राहत सामग्री ढुवानी र अवरुद्ध सडक तथा पुल सञ्चालनको काम जारी रहेको छ।
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज जडानको काम गरिरहेको छ। बाढीका कारण प्रभावित सडक तथा आवागमन पुनः सञ्चालनमा ल्याउने उद्देश्यले पुल निर्माण तथा जडानको काम अघि बढाइएको सेनाले जनाएको छ।

त्यस्तै, नेपाली सेनाले हवाई साधनमार्फत शुक्रबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट दुई विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक छन्। सेनाका अनुसार हालसम्म हवाई माध्यमबाट २७५ विदेशी नागरिकसहित कुल ३ हजार ९९७ जनाको उद्धार गरिएको छ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारलाई पनि सेनाले प्राथमिकतामा राखेको छ। रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोली पावर हाउसको छैटौँ तलासम्म पुगेर खोजी गर्दा कोही फेला नपरे पनि पाँचौँ तलासम्म लेदो भरिएको अवस्थामा रहेकाले थप खोजी जारी राखिएको छ।
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको खोजीका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बलका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सुरुङभित्र थप खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेनाका ८९ जनासहित गैरसैनिक जनशक्ति र आयोजनाका प्रबन्ध निर्देशक सम्मिलित संयुक्त टोलीले तीनवटा बबक्याट र जेनेरेटरको प्रयोग गरी खोजी गरिरहेको छ। उद्धार टोलीले अडिट–२ टनेलबाट एक्स्काभेटर प्रवेश गर्न सक्ने गरी बाटोसमेत सफा गरेको छ।

चिलिमे हाइड्रोपावर क्षेत्रमा विदेशी विज्ञसहितको संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको सहयोगमा सुरुङभित्र जमेको लेदो हटाउने काम गरेको छ। लेदो हटाउँदै टोली सुरुङभित्र १०५ मिटरसम्म पुगेको र खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–१ को हाकुस्थित टनेलमा पनि उद्धार टोलीले २५० मिटरभित्रबाट एक जना चिनियाँ नागरिक लु हाइताओलाई जीवितै उद्धार गरेको छ। सोही क्रममा थप दुई शव फेला पारेर उद्धार गरिएको छ। सुरुङमा जमेको लेदो हटाउँदै थप खोज तथा उद्धार कार्य जारी राखिएको नेपाली सेनाले जनाएकाे छ ।
जमिनतर्फ पनि सेनाले रसुवाको मैलुङदेखि स्याफ्रूबेसीसम्म पैदल गस्ती सञ्चालन गरी प्रभावित तथा जोखिममा रहेका नागरिकको खोजी गरिरहेको छ। प्रभावित क्षेत्रमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत शुक्रबार ३१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। सेनाका अनुसार हालसम्म यस्ता स्वास्थ्य सेवाबाट ३ हजार २९७ जना लाभान्वित भएका छन्।

यसैगरी, रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम समन्वयात्मक रूपमा गरिरहेका छन्।
सेनाले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धारसँगै अत्यावश्यक पूर्वाधार पुनः सञ्चालन र नागरिकलाई तत्काल स्वास्थ्य तथा राहत सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्