काठमाडौं, भदौ २० । रसुवामा आएकाे भाेटेकाेशी बाढी पछि खोज, उद्धार तथा राहत कार्य जारी छ। रसुवा बाढी : १३ सय ३१ जनाकाे शव भेटियाे, करिब ५ हजार सम्पर्कविहीन
प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा १ हजार ३३१ जनामा मानवीय क्षति भएको छ। हालसम्म रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९ र चितवनमा ३६० जनाकाे शव फेला परेकाे प्राधिकरणले जनाएकाे छ। हालसम्म सनाखत भई बुझिलिएका शवको संख्या १८ रहेको छ।
बाढी तथा पहिरोका कारण करिब ५ हजार व्यक्ति सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। रसुवा जिल्ला प्रशासनबाट प्राप्त विवरणअनुसार करिब १ हजार ९६७ नेपाली नागरिक, नुवाकोटबाट करिब २ हजार ३४० नेपाली नागरिक, ५८९ विदेशी नागरिक तथा करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
उद्धारतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकाय परिचालित छन्। हालसम्म विभिन्न माध्यमबाट १३ हजार ३०९ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले मात्रै ४ हजार १६२ जनाको उद्धार गरेको छ। सेनाले हवाई माध्यमबाट २७५ विदेशी नागरिकसहित ३ हजार ६८७ जना तथा स्थलमार्गबाट २०० जनाको उद्धार गरेको विवरणमा उल्लेख छ।
नेपाल प्रहरीले हालसम्म ४ हजार ६५८ जना र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा ४ हजार ८७१ जनाको उद्धार गरेका छन्। नेपाली सेनाले हालसम्म १९३ पटक हवाई उडान गरेको छ, जसमा भदौ २० गते मात्रै १२ वटा उडान भएका छन्। काठमाडौंका निजी क्षेत्रमार्फत समेत हालसम्म १२१ पटक उडान भएको छ। उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०४ पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पनि निरन्तर भइरहेको छ। हालसम्म ५ हजार ९२९ जना घाइतेको उपचार गरिएको छ। तीमध्ये विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट ३ हजार २१७ जना र सशस्त्र प्रहरीबाट २ हजार ३९६ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन्।
प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ र काठमाडौंमा स्थापना गरिएका ४१ वटा होल्डिङ सेन्टरमा ३ हजार ९८२ जना रहेका छन्। उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी १९ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन्।
राहत सामग्री ढुवानीलाई समेत प्राथमिकता दिइएको छ। काठमाडौंबाट ५३ ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकोप्टरमार्फत पनि ९ वटा उडान गरी राहत सामग्री पुर्याइएको छ। सशस्त्र प्रहरीमार्फत नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा १७३ हवाई उडानबाट राहत सामग्री ढुवानी गरिएको छ।
सरकारले प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका साथै १५ वटा प्रभावित पालिकालाई नगद राहतस्वरूप कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।
यसैबीच, आजै माथिल्लो त्रिशूली–१ को ४ नम्बर अडिट टनेलबाट एक जना चिनियाँ नागरिक तथा विदुर नगरपालिका–१०, बेत्रावतीबाट एक १४ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्