जनता टाइम्स

२१ भाद्र २०८३, आईतवार ०८:२२

भाेटेकाेशी बाढी : १ हजार ३ सय ६१ शव फेला, ८ हजार ८८ जना बेपत्ता


काठमाडौं, भदौ २१ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार कार्य जारी छ। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ६ बजेसम्मको खोज तथा उद्धार अपडेटअनुसार बाढीमा हराइरहेकाहरूको शव भेटिने क्रम जारी छ, बेपत्ता भएकाहरूको सङ्ख्या पनि बढ्दै गएको छ । 

खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार ३ सय ६१ शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये ५ सय ४३ पुरुष, ३ सय २५ महिला र ४ सय ९३ जनाको पहिचान खुल्न बाँकी रहेको छ।

फेला परेका शवमध्ये १ हजार ३७ जनाको सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको छ भने ७८ शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार बाढी तथा पहिरोपछि हालसम्म ८ हजार ८८ जना बेपत्ता रहेको विवरण प्राप्त भएको छ। तीमध्ये स्वदेशीतर्फ २ हजार ८ सय ६३ पुरुष, ५ सय ५ महिला गरी ३ हजार ३ सय ६८ जना तथा विदेशीतर्फ २ सय ६९ पुरुष, ३ सय ३२ महिला र ५ अन्य गरी ६ सय ६ जना रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा ६ हजार ३ सय ९१ पुरुष, २ हजार ८ सय ८ महिला र ५४ नाबालक गरी ९ हजार २ सय ५३ जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। त्यस्तै, उद्धार तथा खोज कार्यका क्रममा ३ हजार ९८ जना होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

पहिचान खुल्न नसकेका शव तथा आफन्तको पहिचानका लागि १ हजार २ सय ८६ मृतक र १ हजार १ सय १६ जना आफन्त गरी २ हजार ४ सय २ जनाको डीएनए संकलन गरिएको छ। यसैगरी, पहिचान हुन नसकेका १ हजार २ सय ९६ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, शव व्यवस्थापन, पहिचान तथा राहतसम्बन्धी कार्यलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ।