काठमाडौं, भदौ २१ । रसुवा–भोटेकोशी बाढीका कारण नागरिकहरू शोक, पीडा र विपत्तिमा रहेका बेला सामाजिक सञ्जालमा पीडितमाथि खिसीट्युरी, अनावश्यक टिप्पणी तथा अश्लील र छाडा गालीगलौज गर्नेहरूमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले कडा चेतावनी दिनुभएको छ।
नेता कार्कीले त्यस्तो गतिविधिमा संलग्नहरूलाई आफूले गरेका पोष्ट तथा कमेन्ट सम्झेर खोजी गरी तत्काल डिलिट गर्न र आगामी दिनमा यस्ता गतिविधि नगर्न सुझाव दिनुभएको छ। उहाँले भन्नुभएको छ, “त्यस्तो गर्नेहरूलाई सुझाव छ मेरो : सम्झेर, खोजेर पोष्ट र कमेन्ट डिलिट गर्नुहोला र फेरि त्यस्तो कहिले पनि नगर्नुहोला।”
बाढी तथा विपत्तिका कारण पीडामा रहेका मानिसमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिने प्रयास गर्नेहरूलाई उहाँले अपराधीको संज्ञा दिनुभएको छ।“यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्,” उहाँकाे विश्वास छ, “ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।”
नेता कार्कीले सामाजिक सञ्जालमा त्यस्ता अभिव्यक्ति दिने रास्वपा कार्यकर्तामाथि पार्टीले समेत आवश्यक अनुशासनात्मक कारबाही गर्नुपर्ने बताउनुभएको छ। “पार्टीले पनि त्यस्ता पोस्ट र कमेन्ट गर्नेलाई पार्टीगत कारबाही गर्न आवश्यक छ” उहाँले भन्नुभएको छ।
यसअघि प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले समेत बाढीपीडितलाई सामाजिक सञ्जालमार्फत अश्लील तथा आपत्तिजनक गाली गर्नेहरूलाई अपराधीको संज्ञा दिँदै एक–एक जनामाथि कारबाही गरिने चेतावनी दिनुभएको थियो।
बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला पीडित तथा मृतकका परिवारको संवेदनशीलतालाई सम्मान गर्नुपर्ने भन्दै सरकार र राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित र जिम्मेवार बन्न आग्रह गरिरहेका छन्।














प्रतिक्रिया दिनुहोस्