जनता टाइम्स

२१ भाद्र २०८३, आईतवार १७:१२

भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह भन्ने नारा नै मजाक बन्यो भन्दै महामन्त्रीले त्यागे राप्रपा


काठमाडौं, भदौ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गर्नुभएको छ ।पाठकले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गर्नुभएको हो ।

एक विज्ञप्ति जारी गर्दै पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदै गएको गुनासोसहित मूल नेतृत्वबाट नै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह भन्ने नारा नै मजाक बन्यो’ भन्ने निष्कर्ष सुनाउनु भएको छ ।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ । पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो छ । जसले गर्दा नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति छ,’ महामन्त्री पाठकले भन्नुभएको छ ।

आफूलगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना नदेखेको पनि उहाँको भनाई छ । l

यस्तै उहाँले राप्रपाको तल्ला तहहरूमा रहेका पार्टीका अनगिन्ति नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय र प्रेरणादायी रहेको आफनो बुझाई सुनाउनु भएको छ ।

राजीनामा दिनुभएका महामन्त्री पाठक रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गर्नुभएको थियो ।