काठमाडौं, भदौ २१ । रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत, उपचार तथा पूर्वाधार पुनःस्थापनाको काम जारी राखेकाे छ।
आज साँझ ७ बजेसम्मको खोज तथा उद्धार अपडेटअनुसार नुवाकोटको देवीघाटस्थित तादी नदीमा पुल निर्माणदेखि प्रभावित क्षेत्रमा हवाई तथा जमिनबाट खोज तथा उद्धारसम्मका कामलाई सेनाले निरन्तरता दिएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणको काम तीव्र रूपमा अघि बढाइरहेको छ। बाढीका कारण प्रभावित क्षेत्रको आवागमन सहज बनाउन पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
नेपाली सेनाले आज साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको जनाएको छ। यससँगै हालसम्म हवाई साधनमार्फत ३ हजार ९ सय ७५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६ सय ९८ जना नेपाली र २ सय ७७ जना विदेशी नागरिक रहेका छन्।
बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका पावरहाउस तथा टनेलमा समेत खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

रसुवागढी जलविद्युत् आयोजनाको आयोजनामा Composite Quick Reaction Team तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ।
त्यस्तै, त्रिशूली–३ ए को पावरहाउस तथा टनेलमा नेपाली सेनाको टोलीले उद्धार सामग्रीसहित निरन्तर खोज तथा उद्धार गरिरहेको छ।
त्रिशूली–३ बी मा अडिट–२ बाट प्रवेश गरेको सेनाको टोली अडिट–१ बाट बाहिरिएको छ। अडिट–२ टनेलबाट Excavator लैजान सकिने गरी बाटो सफा गर्ने काम भइरहेको र हालसम्म कुनै वस्तु वा व्यक्ति फेला नपरेको जनाइएको छ।
चिलिमे हाइड्रो क्षेत्रमा विदेशीसहितको संयुक्त टोलीले Mini Excavator र Mud Pump प्रयोग गरी टनेलभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। हेलिकप्टरमार्फत स्याफ्रुबेँसीमा झारिएको Excavator लाई टनेल क्षेत्रमा लैजाने कामसमेत भइरहेको छ।

यसैगरी, माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको टोलीले Thermal Camera प्रयोग गरी टनेलभित्र थप खोजी गरिरहेको छ।
प्रभावित क्षेत्रमा मैलुङदेखि स्याफ्रुबेँसीसम्म नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य गरिरहेको छ। त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार २ सय ९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
परिचालित टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य समन्वयात्मक रूपमा अघि बढाइरहेको नेपाली सेनाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्