जनता टाइम्स

२१ भाद्र २०८३, आईतवार २१:१९

सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसको उच्च कदर हुनेछ : प्रधानमन्त्री बालेन्द्र साह


काठमाडौं, भदौ २१ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले बाढीपहिरोजस्ता विपद्का समयमा ज्यानको जोखिम मोलेर नागरिकको उद्धार तथा सुरक्षामा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको योगदानको उच्च कदर गरिने बताउनुभएको छ।

प्रधानमन्त्री साहले नुवाकोटको विदुर नगरपालिका–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा भोटेकोशीको बाढी प्रवेश गर्दा सुरक्षार्थ खटिनुभएका सुरक्षाकर्मीहरूले देखाउनुभएको साहस र धैर्यको प्रशंसा गर्नुभएको छ। उहाँका अनुसार कारागारमा रहेका ९२३ जना कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नुका साथै बाढीको मौका छोपेर भागेका ५० जना कैदीबन्दीलाई समेत सुरक्षाकर्मीहरूले पुनः नियन्त्रणमा लिनुभएको थियो।

प्रधानमन्त्री साहका अनुसार कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालसमेत बाढीले क्षतिग्रस्त बनाएर कैदीबन्दी राखिएको भवनको पहिलो तलासम्म लेदोसहित बाढी प्रवेश गरिसकेको अवस्थामा समेत सुरक्षाकर्मीहरूले आफ्नो जिम्मेवारीबाट पछि हट्नुभएन। “अलिकति पनि हिम्मत र धैर्य नगुमाई उहाँहरूले दुई भवनमा राखिएका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सार्नुभयो,” प्रधानमन्त्री साहले उल्लेख गर्नुभएको छ।

भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रममा केही सुरक्षाकर्मी घाइतेसमेत हुनुभएको उहाँले बताउनुभएको छ। सुरक्षाकर्मीहरूले आसपासका स्थानीय बासिन्दाको ज्यानसमेत जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्री साहको भनाइ छ।

कारागारमा खटिएका सुरक्षाकर्मीहरू स्वयं पनि कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै उहाँले ब्यारेक र कार्यालय लेदोमा पुरिएको, पहुँचमार्ग अवरुद्ध भएको तथा खानेपानीको व्यवस्थासमेत प्रभावित भएको बताउनुभएको छ। यस्तो अवस्थामा खेतका आलीलाई बाटो बनाएर टाढाबाट पानी बोकी कैदीबन्दीलाई खुवाउनेदेखि बाटो खुलाउने र नियमित ड्युटीमा खटिने सुरक्षाकर्मीहरूको साहस प्रशंसनीय रहेको उहाँले उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री साहले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको जानकारी दिनुभएको छ।

स्थलमार्ग, हेलिकप्टर तथा आवश्यकताअनुसार आफ्नै काँधमा बोकेर समेत घाइतेलाई तत्काल अस्पताल पुर्‍याउने काम सुरक्षाकर्मीहरूले गरिरहेको उहाँले बताउनुभएको छ। शव व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा संक्रामक रोग फैलिन नदिन आवश्यक सावधानी तथा राहत शिविरमा रहेका प्रभावितलाई हौसला प्रदान गर्नसमेत सुरक्षाकर्मीहरू अहोरात्र खटिरहेको उहाँको भनाइ छ।

प्रधानमन्त्री साहले कठिन भूगोल, प्रतिकूल मौसम र बाढीले थुपारेको दलदल तथा भग्नावशेषबीच सुरक्षाकर्मीहरूले निरन्तर खोज तथा उद्धार गरिरहेको उल्लेख गर्नुभएको छ। “तपाईंहरूले प्रभावितहरूको पीडा गहिरोसँग बुझ्नुभएको छ। आफ्ना मान्छे सम्पर्कविहीन भएको भन्दै खोजिदिन आग्रह गर्ने मानिसहरूको संख्या ठूलो छ। त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ,” उहाँले भन्नुभएको छ।

बाढीका कारण सुरक्षाकर्मीहरूले समेत आफ्ना साथी गुमाउनुपरेको प्रधानमन्त्री साहले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ। आफ्ना साथीहरूको पीडाका बीच पनि सुरक्षाकर्मीहरू आँशु लुकाएर खोज तथा उद्धारमा खटिएको उल्लेख गर्दै उहाँले उनीहरूको त्याग र समर्पणप्रति सम्मान व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री साहले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ सुरक्षाकर्मी परिचालन भएको जानकारी दिनुभएको छ।

नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ तथा मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरी उद्धार कार्य गरिरहेको छ। रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ तथा अतिरिक्त एयर बेस सञ्चालनमा रहेको उहाँले बताउनुभएको छ।

विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा समेत सेनाले खोज तथा उद्धारको नेतृत्व गरिरहेको र सशस्त्र प्रहरीको विशेष खोज तथा उद्धार टोली तथा नेपाल प्रहरीको डग टिम परिचालन गरिएको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ। तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण तथा सडक खुलाउने कामसमेत भइरहेको उहाँले उल्लेख गर्नुभएको छ। प्रभावित क्षेत्रमा ९ हजार २ सय ८७ जना नेपाली सेना खटिएको जनाइएको छ।

नेपाल प्रहरीले सुरुदेखि नै अग्रपङ्क्तिमा रहेर खोज, उद्धार, राहत वितरण, घाइतेको उद्धार तथा शव व्यवस्थापनमा भूमिका निर्वाह गरिरहेको छ। तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै जोखिमपूर्ण क्षेत्रमा सूचना प्रवाह र शान्ति सुरक्षा कायम गर्ने कामसमेत प्रहरीले गरिरहेको उहाँले बताउनुभएको छ। हाल ७ हजार ९ सय ७५ जना प्रहरी प्रभावित क्षेत्रमा खटिनुभएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बलले विशेष तालिमप्राप्त गोताखोर, डोरी टोली, ड्रोन तथा केनाइन टोली परिचालन गरी खोज तथा उद्धार गरिरहेको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट तथा १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको र ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी परिचालित रहेको उहाँले बताउनुभएको छ।

प्रधानमन्त्री साहले विपद्को समयमा सुरक्षाकर्मीहरूसँग काँधमा काँध मिलाएर काम गरिरहनुभएका स्वदेश तथा विदेशका विज्ञहरूप्रति समेत धन्यवाद व्यक्त गर्नुभएको छ। “तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरूले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरू प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ,” प्रधानमन्त्री साहले भन्नुभएको छ।

उहाँले सुरक्षाकर्मीहरूलाई संकटका बेला खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति समेत सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको छ।