काठमाडौं, भदौ २२ । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि नेकपा एमालेका विभिन्न जनसंगठन तथा स्वयंसेवकहरू उद्धार, राहत र पुनःस्थापनाको काममा सक्रिय भएका छन्।
बाढीका कारण सयौँ परिवार विस्थापित भएका छन् भने ठूलो संख्यामा नागरिक अझै बेपत्ता छन्। बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकको शव फेला पर्ने क्रम जारी रहेको छ। विपद्का कारण व्यक्तिका घर तथा आवास, सरकारी तथा सार्वजनिक भवन, सडक, पुल, विद्युत् संरचना र जलविद्युत् आयोजनासमेतमा ठूलो क्षति पुगेको छ। कतिपय बस्ती तथा महत्वपूर्ण पूर्वाधार बाढीले बगाउँदा स्थानीयको जनजीवन थप प्रभावित भएको छ।

विपद्को यस्तो कठिन अवस्थामा एमालेले आफ्ना स्थानीय कमिटी, जनसंगठन तथा स्वयंसेवकलाई परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। तत्काल उद्धार आवश्यक भएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, जोखिममा रहेका बस्तीमा राहत सामग्री पुर्याउने तथा विस्थापित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने काममा स्वयंसेवकहरू खटिएका छन्।
विपतले पुर्याएकाे क्षति तथा पीडितका समस्या बुझ्न पार्टी अध्यक्ष केपी शर्मा ओली समेत प्रभावितस्थलमा पुग्नु भएकाे थियाे । उहाँले प्रभावितलाई राहत सामाग्री समेत हस्तान्तरण गर्नुभएकाे थियाे । उद्धार राहत र पुनस्थपानकाे कामकाे नेतृत्व पार्टी सचिव तथा वाग्मती प्रदेश इञ्चार्ज महेश बस्नेतले लिनु भएकाे छ ।

विशेषगरी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु तथा आदिवासी जनजाति महासंघले रसुवा जिल्लामा स्वयंसेवक परिचालन गरी उद्धार तथा राहतका काम गरिरहेका छन्। रसुवामा विनोद श्रेष्ठको संयोजनमा स्वयंसेवक परिचालन गरिएको छ।
त्यस्तै, नुवाकोटमा भोलेन्टियर्स फोर्स र खेलकुद महासंघ परिचालन भएका छन्। नुवाकोटमा रूपनारायण श्रेष्ठको संयोजनमा प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि सञ्चालन भइरहेको छ।

धादिङ र चितवनमा पूर्वसैनिक तथा प्रहरी संगठन, अखिल नेपाल महिला संघ र रिटर्नी फेडेरेसनमार्फत स्वयंसेवक परिचालन गरिएको छ। धादिङ–चितवन क्षेत्रमा रमेश आचार्यको संयोजनमा स्वयंसेवकहरूले प्रभावित परिवारलाई सहयोग पुर्याउने, राहत सामग्री व्यवस्थापन गर्ने तथा पुनःस्थापनाका लागि आवश्यक काममा सघाइरहेका छन्।

एमालेका स्वयंसेवकहरूले तत्कालीन उद्धार र राहतसँगै बाढीबाट क्षतिग्रस्त सडक, पुल, घर तथा सार्वजनिक संरचनाको अवस्था पहिचान गरी पुनःस्थापनाका लागि आवश्यक समन्वयसमेत गरिरहेका छन्। विस्थापित नागरिकलाई सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्ने कामलाई पनि प्राथमिकता दिइएको छ। पार्टीकै तर्फबाट समेत केही राहत सामाग्री वितरण गरिएकाे छ ।

बाढीले ठूलो क्षति पुर्याएका क्षेत्रहरूमा अझै पनि बेपत्ता नागरिकको खोजी, शव व्यवस्थापन, जोखिमयुक्त संरचनाबाट नागरिकको उद्धार र प्रभावित परिवारको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा राजनीतिक संगठनको सीमाभन्दा माथि उठेर मानवीय सेवामा स्वयंसेवक परिचालन गरिएकाे हाे ।

एमालेका स्वयंसेवकहरूको सक्रियताले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। उद्धार, राहत हुँदै प्रभावित नागरिकलाई पुनःस्थापित गर्ने कामसम्म निरन्तर स्वयंसेवक परिचालन गर्ने एमाले जनाएकाे छ ।














प्रतिक्रिया दिनुहोस्