जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार ०७:५४

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य प्रभावकारी भएन, उद्धारमा थप सुरक्षाकर्मी र उपकरण परिचालन गर्न हर्क साम्पाङको माग


काठमाडौं, भदौ २२ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै थप सुधार गर्न सरकारसँग माग गर्नुभएको छ।

साम्पाङले कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई आवश्यक औजार तथा उपकरणसहित बाढी प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने बताउनुभएको छ। उहाँले प्रभावित क्षेत्रमा बेल्चासमेत पर्याप्त नभएको उल्लेख गर्दै खोज तथा उद्धारका लागि आवश्यक उपकरण तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो। ‘खोजी र उद्धार कार्य खास प्रभावकारी भएको छैन, अझै सुधार गर्नुपर्छ,’ साम्पाङले भन्नुभएको छ, ‘थोरैमा १५ हजार सुरक्षाकर्मीलाई औजार र उपकरणसहित बाढीग्रस्त क्षेत्रमा पठाउनुपर्छ।’

उहाँका अनुसार आइतबारको खोजी कार्यमा आफूहरूले बोकेर लगेको बेल्चाले समेत महत्वपूर्ण काम गरेको थियो। उपकरण हुँदाहुँदै पनि प्रयोग गर्न अनुमति नदिँदा उद्धार कार्य प्रभावित भएको उहाँको गुनासो छ। आवश्यक उपकरण प्रयोग गर्न दिइएको भए जीवनको खोजी अझ छिटो र प्रभावकारी हुन सक्ने उहाँले बताउनुभएको छ।

साम्पाङले सरकारले प्रभावकारी ढंगले काम गर्न आफूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सुझाव र जानकारीलाई समेत गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणको अवस्था अझै व्यवस्थित हुन नसकेको टिप्पणी गर्नुभएको छ।

उहाँका अनुसार राहत संकलन केन्द्रहरूमा सामग्री थुप्रिए पनि गाउँगाउँमा भने पर्याप्त राहत पुग्न सकेको छैन। आफ्नो टोलीले संकलित राहत सामग्री प्रभावित गाउँहरूमा पुर्‍याउने काम गरिरहेको साम्पाङले जानकारी दिनुभएको छ। उहाँले बाढीपीडितलाई सबैले सहयोग गर्नसमेत अपिल गर्नुभएको छ।

यसैबीच, साम्पाङसहितको टोलीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारमा विस्थापितलाई राखिएको होल्डिङ सेन्टरमा विदेशी उद्धार टोलीसँग सहकार्य गरी अस्थायी शौचालय निर्माणमा समेत सहयोग गरेको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङको नेतृत्वमा रहेको टोली अहिले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिएको छ।