काठमाडौं, भदाै २२ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी तथा पहिरोबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिनुभएको छ।
राष्ट्रपति पौडेल नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो। उहाँले प्रभावित नागरिकका लागि सञ्चालन गरिएको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
स्थलगत अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढीपछि भइरहेको खोज तथा उद्धार, राहत वितरण, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था, होल्डिङ सेन्टर सञ्चालन तथा पुनर्स्थापनाका प्रयासबारे जानकारी लिनुभएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटसँगै रसुवा, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीले बस्ती, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै ठूलो संख्यामा नागरिकलाई विस्थापित बनाएको थियो।
भोटेकोशीको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै विस्थापित नागरिकको पुनर्स्थापना अहिले पनि प्रमुख चुनौतीका रूपमा रहेको छ। यस्तो अवस्थामा राष्ट्रपति पौडेलको स्थलगत निरीक्षणलाई प्रभावित नागरिकको वास्तविक अवस्था बुझ्ने र राज्यका पुनर्स्थापना प्रयासलाई थप प्रभावकारी बनाउन आवश्यक पहलका रूपमा हेरिएको छ।
राष्ट्रपति पौडेलले प्रभावित नागरिकको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुका साथै उद्धार, राहत र पुनर्स्थापनाका लागि भइरहेका कामबारे सम्बन्धित निकायसँग जानकारी लिनुभएको हो।
भोटेकोशीमा आएको बाढीले हिमाली तथा पहाडी जिल्लामा निम्त्याएको विपद्ले विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली, सुरक्षित पुनर्स्थापना तथा जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापनमा समेत राज्यको ध्यान थप केन्द्रित गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।














प्रतिक्रिया दिनुहोस्