जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार १६:३३

विपत्तिमा दोषारोपण होइन, राष्ट्रिय एकता आवश्यक : राष्ट्रपति रामचन्द्र पौडेल


काठमाडौं, भदौ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट उत्पन्न संकटको सामना गर्न राजनीतिक विवाद र दोषारोपणभन्दा राष्ट्रिय एकता तथा ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ। उहाँले विपत्तिमा परेका नागरिकका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समाधानका लागि महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।

राष्ट्रपति पौडेलले भदौ १० गते हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरोपछि भाेटेकाेशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै विपत्तिमा परी ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकको खोजी र उद्धार कार्य सफल होस् भन्ने कामना गर्नुभएको छ।

उहाँले उद्धार तथा राहतमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको उच्च प्रशंसा गर्नुभएको छ। आफ्नो ज्यानको समेत पर्वाह नगरी जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेर नागरिकको उद्धारमा खटिनुभएका सुरक्षाकर्मी तथा उद्धारकर्मीको साहस, समर्पण र सेवाभावले नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्ने राष्ट्रपति पौडेलले बताउनुभएको छ।

कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा जोखिमपूर्ण परिस्थितिलाई बेपत्ता नागरिकको खोजी र उद्धार रोक्ने कारण बनाउन नहुनेमा उहाँले जोड दिनुभएको छ। परिवारका सदस्य तथा आफन्तको खबरको प्रतीक्षामा रहनुभएकाहरूलाई खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै राष्ट्रपति पौडेलले सम्पूर्ण राष्ट्र नै उहाँहरूको पीडासँगै रहेको बताउनुभएको छ।

राष्ट्रपति पौडेलले उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विशेष संरक्षण आवश्यक पर्ने नागरिकलाई राहत तथा उद्धारमा प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ।

उहाँले मृतकको पहिचान प्रक्रिया संवेदनशील र विश्वसनीय ढंगले अघि बढाउनुपर्ने बताउँदै आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। नेपाली तथा विदेशी नागरिकका परिवारलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनुका साथै आफ्ना प्रियजनलाई घर फर्काउन आवश्यक मानवीय सहयोग र सहजीकरण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।

नेपालमा कार्यरत, पर्यटक, पदयात्री तथा आध्यात्मिक यात्रामा रहेका विदेशी नागरिकले समेत विपत्तिमा ज्यान गुमाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले उनीहरूप्रति पनि शोक व्यक्त गर्नुभएको छ। प्रभावित विदेशी नागरिकका परिवार तथा सम्बन्धित देशका सरकार र कूटनीतिक नियोगसँग नेपालले सहकार्य गर्ने उहाँले बताउनुभएको छ।

विपत्तिका बेला खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराएर सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपति पौडेलले कृतज्ञता व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले पछिल्लो विपत्तिले नेपालको हिमाली पर्यावरणको संवेदनशीलता मात्र नभई विश्वव्यापी तापक्रम वृद्धिबाट उत्पन्न जोखिमसमेत उजागर गरेको बताउनुभएको छ। उहाँले नेपालजस्ता पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र नभई जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ।

उहाँले विपत्तिपछि अब पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानसँगै नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायतका विपत्तिको सामना गर्दै आएको स्मरण गराउँदै राष्ट्रपति पौडेलले यसपटक पनि नेपाली नागरिकले साहस, धैर्य, संयम र दृढताका साथ संकटको सामना गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा नागरिकलाई एकताबद्ध भएर विपत्तिको सामना गर्न आह्वान गर्नुभएको छ।

‘यो विभाजनको समय होइन’ भन्ने सन्देश दिँदै राष्ट्रपति पौडेलले राजनीतिक विवाद र टकरावमा अल्झिनुभन्दा राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने बेला भएको बताउनुभएको छ। उहाँले विपत्तिपछि पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानलाई अघि बढाउँदै विकासको वर्तमान मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।