रामेछाप, भदाै २२ । वृद्ध दम्पतीलाई घरमै बाँधेर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा रामेछाप प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा भएको डकैती घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरू अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तुलालप्रसाद जैसवारका अनुसार गत भदौ १२ गते राति करिब १२ बजे ८५ वर्षीय वृद्ध र उहाँकी ८६ वर्षीया पत्नी घरमा सुतिरहेको अवस्थामा नकाबधारी तीन जना व्यक्ति घरभित्र प्रवेश गरेका थिए।
प्रहरीका अनुसार उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाएका थिए। ज्यान मार्ने धम्की दिएर नियन्त्रणमा लिएपछि उनीहरूले वृद्ध दम्पतीले लगाएका तथा घरमा राखिएका गरगहना र नगद चोरी गरी फरार भएका थिए।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा डकैतीमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक कमल राउतकाे नेतृत्वमा खटिएकाे टाेलीले भक्तपुरका विभिन्न ठाउँबाट पक्राउ गरेकाे प्रहरी प्रमुख जैसवारले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्गा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३९ वर्षीय दीर्घराज मोक्तान, सोही वडाका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–८ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलहारा नगरपालिका–४ का ३८ वर्षीय दिपक भन्ने गुणराज विश्वकर्मा रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट डकैतीमा प्रयोग भएका सामग्री तथा चोरीका सामान बरामद गरेको जनाएको छ। सुमन जर्गा मगरको साथबाट २५ हजार रुपैयाँ नगद, रेडमी कम्पनीको मोबाइल र रातो–कालो रंगको २२० सीसीको मोटरसाइकल बरामद भएको छ।
त्यस्तै, दीर्घराज मोक्तानको साथबाट ५ लाख २५ हजार रुपैयाँ नगद, नागरिकता, राहदानी, एनएमबी बैंकको चेक तथा ग्लोबल आईएमई बैंकको राजस्व भुक्तानीसम्बन्धी कागजात बरामद भएको प्रहरीले जनाएको छ।
पशुपति श्रेष्ठको साथबाट मोटरसाइकल, ६४ हजार ६४० रुपैयाँ नगद, मोबाइल, बैंक तथा सहकारीसम्बन्धी कागजात र चेक बरामद गरिएको छ। पिताम्बर गहतराजको साथबाट मोबाइल तथा दिपक भन्ने गुणराज विश्वकर्माको साथबाट सुनजस्तो पहेँलो धातुको रिङ बरामद भएको प्रहरीले जनाएको छ। तीनजनाले लुटेकाे सुनका गहना पिताम्बरलाई र पिताम्बरले गणराजलाई बिक्रि गरेका बुझिएकाे छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको विगतका गतिविधिबारे अनुसन्धान गर्दा उनीहरू अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको छ।
पशुपति श्रेष्ठको समूहले खाँडादेवी गाउँपालिका–७ स्थित ऋषेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरू खाँडादेवी गाउँपालिका–३ मा भएका दुई छुट्टाछुट्टै खसी तथा बोका चोरीका घटनामा समेत संलग्न रहेको पुष्टि भएको प्रहरीको भनाइ छ।
नेपाल प्रहरीको अपराधिक रेकर्ड सिष्टममा रहेको अभिलेख परीक्षण गर्दा पक्राउ परेकामध्ये पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालिमाटीमा डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ। दीर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा अभद्र व्यवहारसम्बन्धी मुद्दा रहेको तथा दिपक भन्ने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको अभिलेख भेटिएको प्रहरीले जनाएको छ।
वृद्ध दम्पतीलाई घरमै बाँधेर गरिएको डकैती घटनाको अनुसन्धानका क्रममा गिरोहका सदस्य पक्राउ परेसँगै उनीहरूको विगतका आपराधिक गतिविधिसमेत बाहिर आएको प्रहरीको भनाइ छ।
पक्राउ परेका पाँचै जनामाथि डकैती तथा अन्य घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्