काठमाडौं, भदौ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
सोमबार नुवाकोट पुग्नुभएका राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकसँग भेटघाट गरी उनीहरूका समस्या र गुनासा सुन्नुभयो ।
राष्ट्रपति पौडेलले जिल्ला सुरक्षा समितिसँग भोटेकोशी बाढीले नुवाकोटमा पुर्याएको क्षति, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा जानकारी लिनुभयो ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले बाढीबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत गरेका थिए । उनीहरूले बाढी प्रभावितको खोजी, उद्धार, राहत, पुनर्स्थापना तथा तत्कालीन पुनर्निर्माणका लागि भइरहेका कामबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
राष्ट्रपति पौडेलले नुवाकोटमा रहेको बाढी प्रभावितका लागि बनाइएको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो । त्यहाँ रहेका पीडितहरूले बाढीबाट भएको क्षति तथा आफूहरूले भोगिरहेका समस्याबारे राष्ट्रपतिलाई जानकारी गराउँदै खोज, उद्धार, राहत र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।
राष्ट्रपति पौडेलले नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्पको समेत अवलोकन गर्नुभयो । उहाँले त्यसपछि रसुवा बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ ।














प्रतिक्रिया दिनुहोस्