जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार १०:३१

छिमेकीको दुःखमा साथी बने धादिङका एमाले स्वयंसेवक


काठमाडौं, भदौ २३ । विपद्मा परेका छिमेकीलाई सहयोग गर्ने उद्देश्यले धादिङका नेकपा एमालेका स्वयंसेवकहरू बाढी प्रभावित क्षेत्रमा पुगेर श्रमदानमा जुटेका छन्।

धुनिवेशी, थाक्रे, सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिकाका गरी १६७ जना स्वयंसेवक बाढी प्रभावित क्षेत्रमा परिचालन भएका हुन्। उनीहरूले प्रभावित विद्यालय तथा निजी घरहरूको सरसफाइसँगै आवश्यक श्रमदान गरिरहेका छन्।

भाेटेकाेशीमा आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका बस्तीमा जनजीवन सहज बनाउन स्वयंसेवकहरूले स्थानीयवासीसँगै मिलेर भग्नावशेष हटाउने, घर तथा विद्यालय परिसर सफा गर्ने लगायतका काम गरिरहेका छन्।

विपद्का बेला राजनीतिक विभाजनभन्दा माथि उठेर प्रभावित नागरिकको दुःखमा साथ दिनुपर्ने सन्देशसहित स्वयंसेवकहरू परिचालन गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयाे। स्वयंसेवकहरूको श्रमदानले बाढी प्रभावित परिवारलाई आफ्नो घर तथा विद्यालय पुनः व्यवस्थित गर्न सहयोग पुगेको छ।

स्थानीयवासीले विपद्को कठिन अवस्थामा घरदैलोमै पुगेर श्रमदान तथा सरसफाइमा सहयोग गरेकोमा स्वयंसेवकहरूलाई धन्यवाद दिएका छन्।