काठमाडौं, भदौ २३ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’लाई रसुवाको बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न सुझाव दिनुभएको छ।
साम्पाङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहलाई सम्बोधन गर्दै रसुवामा कम्तीमा १५ हजार सुरक्षाकर्मी औजार तथा आवश्यक उपकरणसहित परिचालन गर्नुपर्ने बताउनुभएको हो।
उहाँले बाढीग्रस्त क्षेत्रमा अहिले उद्धार, खोज तथा पुनःस्थापनाका लागि ठूलो संख्यामा जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै सुरक्षाकर्मीका लागि खानपान तथा बसोबासको उचित व्यवस्था गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। ‘यति बेला यहाँ बाढीग्रस्त क्षेत्रमा चाहिएको छ फोर्स’ भन्दै साम्पाङले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र पर्याप्त औषधिसमेत तत्काल पठाउन सुझाव दिनुभएको छ।
बाढी तथा पहिरोबाट प्रभावित रसुवामा उद्धार, बेपत्ता नागरिकको खोजी, भग्नावशेष हटाउने तथा प्रभावित बस्तीको पुनःव्यवस्थापनका लागि थप जनशक्ति र स्रोतसाधन आवश्यक रहेको उहाँको भनाइ छ।
साम्पाङले विपद्को समयमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्