जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार १७:०९

सरकारको काममा समर्थन गर्दै ‘सुध्रिएको प्रमाण’ दिन पुराना दललाई गृहमन्त्री गुरुङको आग्रह


काठमाडौं, भदौ २३ । गृहमन्त्री सुधन गुरुङले सरकारले गरिरहेका काममा समर्थन गर्दै आफूहरू सुध्रिएको प्रमाण दिन पुराना राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ। उहाँले सरकारको विरोध गरिरहेसम्म पुराना दलहरू सुध्रिएको मान्न नसकिने टिप्पणीसमेत गर्नुभएको छ।

जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको इतिहासलाई विभिन्न ढंगले व्याख्या नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिनुभयो । उहाँले जेनजी आन्दोलनको अपमान गर्नु देशका नागरिककै अपमान हुने दाबी गर्नुभयो। “त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन,” उहाँले भन्नुभयो, “यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिरहनुभएको छ, त्यसैले सुध्रिनुस्, अझै पनि समय छ सुध्रिनुस्।”

पुरानो सोचबाट नयाँ नेपाल निर्माण सम्भव नहुने उहाँको भनाइ थियो। उहाँले पुराना दलका नेताहरूलाई आन्दोलनको मर्म बुझेर आफ्नो कार्यशैली सुधार गर्न आग्रह गर्नुभयो।

गृहमन्त्री गुरुङले आफूहरू जनताको मतबाट निर्वाचित भएर सरकारमा आएको दाबी गर्दै सत्ता र शक्तिको लोभ आफूहरूमा नरहेको बताउनुभयो। भदौ २३ को आन्दोलन आफूहरू सत्ताको पछाडि लागेर गरेको नभएको उहाँको भनाइ थियो।

आफ्नो जिम्मेवारी निर्वाह गर्दा कुनै कमजोरी नहोस् भन्ने विषयमा आफू निरन्तर सचेत रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मलाई सुत्न पनि डर लाग्छ, कुनै दिन मेरोबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, १०० नम्बर दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा मलाई डर छ, म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु।”

उहाँले आफू मात्र नभई सरकारका सबै मन्त्रीहरू जनताको अपेक्षा पूरा गर्ने गरी काम गरिरहेको दाबी गर्नुभयो।

गृहमन्त्री गुरुङले सुशासनको पक्षमा आवाज उठाउँदा तत्कालीन सरकारले युवाहरूमाथि गोली चलाएको आरोपसमेत लगाउनुभयो। वर्तमान सरकारले भने जेनजी आन्दोलनका माग र अपेक्षालाई सम्बोधन गर्ने गरी काम गरिरहेको उहाँको दाबी थियो। 

उहाँले कसैले चाहेर आफ्नो मन्त्री पद नढल्ने पनि बताउनुभयो । आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चले मात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने दाबी गर्नुभयो ।  ‘तपाईँको यो मन्त्री, दाइ भाइ छोरा एउटै कुराले ढल्छ, त्यो भनेको अर्को गोली चल्नुपर्छ, अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन’, उहाँले भन्नुभयो ।