जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार १७:१८

सरकारको विरोध गरेको आरोपमा जेनजी आन्दोलनमा घाइते पवन खड्का पक्राउ


काठमाडौं, भदाै २३ । जेनजी आन्दोलन सुरु भएको दिन अर्थात् २०८२ भदौ २३ गते आन्दोलनका क्रममा गोली लागेर घाइते हुनुभएका पवन खड्कालाई प्रहरीले आज जेनजी दिवसकै दिन पक्राउ गरेको छ।

सरकारको विरोध गरेको आरोपमा गृहमन्त्री सुधन गुरुङको निर्देशनमा खड्कालाई पक्राउ गरिएको दाबी गरिएको छ। आन्दोलनका क्रममा घाइते हुनुभएका खड्कालाई आन्दोलनको दिनमै पक्राउ गरिएपछि घटनालाई लिएर प्रश्न उठेको छ।

जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका खड्काले सरकारका गतिविधिको विरोध गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ। यद्यपि, उहाँमाथि लगाइएको आरोप तथा पक्राउको कानुनी आधारबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

आलोचकहरूले भने सरकारको विरोध गर्ने व्यक्तिलाई नै जेनजीको पहिचानबाट बाहिर राख्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनीहरूले गृहमन्त्री गुरुङको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारका हरेक गतिविधिको समर्थन गर्ने व्यक्तिलाई मात्रै जेनजी मान्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्।

विशेषगरी ग्याँस अभावका विषयमा सरकारको बचाउ गर्ने तथा त्रिशूली बाढीका क्रममा उद्धार प्रयासबारे सरकारको पक्षमा बोल्ने व्यक्तिहरूलाई मात्रै जेनजीका रूपमा प्रस्तुत गर्न खोजिएको आरोपसमेत लगाइएको छ।

यसैबीच, आन्दोलनका क्रममा पानी वितरण गर्दै गृहमन्त्री बन्नुभएका गुरुङ नेतृत्वको गृह प्रशासनले आन्दोलनमै गोली लागेर घाइते हुनुभएका व्यक्तिलाई सरकारको आलोचना गरेको आरोपमा पक्राउ गरेको विषयले जेनजी आन्दोलनको मूल भावना र सरकारको व्यवहारबीचको सम्बन्धबारे बहस सिर्जना गरेको छ।