जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार १९:५७

जेनजी स्मृति कार्यक्रमप्रति रास्वपा सचेतक  क्रान्तिशिखा धितालको कडा आपत्ति, भनिन्- सुध्रिनु अरूले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने ?


काठमाडौं, भदौ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पुगेको अवसरमा काठमाडौंको नयाँ बानेश्वरस्थित बीआईसीसी अगाडि आज आयोजित कार्यक्रमको स्वरूपप्रति प्रश्न उठाउँदै उहाँले कार्यक्रमले आन्दोलनका शहीद तथा घाइतेहरूको भावनालाई सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको हो।

धितालले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आफू यसै पनि भावुक भएको उल्लेख गर्दै बीआईसीसी अगाडि शहीदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि आफू ‘अवाक्’ भएको बताउनुभएको छ। उहाँले कताकता आफूहरूले नै जेनजीका शहीद र घाइतेहरूको अपमान गरिरहेको महसुस भएको उल्लेख गर्नुभएको छ।

उहाँले कार्यक्रममा निर्माण गरिएको स्टेजको स्वरूप, धर्मगुरुहरूको उपस्थितिलगायत विषयमाथि समेत प्रश्न उठाउनुभएको छ। ‘त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो?’ भन्दै उहाँले कार्यक्रमले आफ्ना सन्तान गुमाएका परिवार तथा आन्दोलनका क्रममा घाइते भएर आज पनि शरीरमा घाउ बोकेर बसेकाहरूको पीडालाई कसरी सम्बोधन गर्‍यो भन्ने प्रश्न गर्नुभएको छ।

जेनजी आन्दोलनको आवाजलाई अगाडि बढाउने तथा सरकारका काममाथि निरन्तर प्रश्न उठाउनेहरूले समेत यस्तो कार्यक्रमप्रति समयमै हस्तक्षेप गर्न नसकेकोमा उहाँले असन्तुष्टि जनाउनुभएको छ। धितालले पछिल्लो एक वर्षमा नेपाली समाजले गुमाएको सबैभन्दा ठूलो कुरा अरूले के महसुस गरिरहेका छन् भन्ने बुझ्ने क्षमता भएको टिप्पणी गर्नुभएको छ। उहाँले अरूको पीडा महसुस गर्न नचाहने प्रवृत्ति बढ्दै गएको भन्दै आत्मसमीक्षाको आवश्यकता औँल्याउनुभएको छ।

उहाँले गत वर्ष जेनजी आन्दोलनका क्रममा उठाइएका मूल प्रश्नसमेत स्मरण गराउनुभएको छ। प्रेस स्वतन्त्रता, सत्ता निरङ्कुश हुन नहुने तथा राज्यसत्ताले आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्ने मागसहित आफूहरू सडकमा उत्रिएको उल्लेख गर्दै उहाँले अहिले त्यही आन्दोलनबाट आएका शक्तिहरूले आफूलाई प्रश्न गर्नेहरूप्रति धम्की र चेतावनीको भाषा प्रयोग गर्नु विडम्बनापूर्ण भएको बताउनुभएको छ। ‘अहिले हामीमाथि प्रश्न गर्नेहरुलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ? त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भनेर सडकमा गएका थियौँ हामी, के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?’ भन्दै उहाँले आन्दोलनपछि प्राप्त अधिकारको संरक्षणका विषयमा समेत गम्भीर प्रश्न उठाउनुभएको छ।

धितालले आफूहरू मात्रै सही र अरूले मात्रै सुध्रिनुपर्ने मानसिकताप्रति समेत प्रश्न गर्दै आत्मसुधारको आवश्यकता औँल्याउनुभएको छ।

अन्त्यमा उहाँले जेनजी आन्दोलनका शहीदहरूको बलिदानको अर्थ नै प्रश्न गर्दै ‘सुध्रिनु अरूले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान् शहीदहरूको बलिदान ?’ भन्दै नेतृत्व तथा आन्दोलनसँग जोडिएका सबै पक्षलाई आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ ।