काठमाडौं, भदौ २३ । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत, स्वास्थ्य सेवा तथा भौतिक संरचना पुनर्निर्माणको कामलाई निरन्तरता दिइरहेकाे छ।
नेपाली सेनाका अनुसार प्रभावित विभिन्न क्षेत्रबाट हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यसँगै क्षतिग्रस्त पुल तथा सडक पुनः सञ्चालनका लागि आवश्यक काम भइरहेको छ।
नेपाली सेनाले भदौ २३ गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप ८१ जनाको उद्धार गरेको छ। यससँगै हालसम्म हवाई माध्यमबाट स्वदेशी ३ हजार ७ सय ९८ र विदेशी २ सय ८३ गरी कुल ४ हजार ८१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका टनेल तथा पावरहाउस क्षेत्रमा पनि विशेष टोली परिचालन गरी खोजी कार्य भइरहेको छ। रसुवागढी जलविद्युत् आयोजनामा Composite Quick Reaction Team तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरिरहेको छ। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनमार्फत गरिएको खोजीका क्रममा एक शव फेला परेको र थप खोजी जारी रहेको सेनाले जनाएको छ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। चिलिमे हाइड्रोमा नेपाली तथा विदेशी टोलीको संयुक्त प्रयासमा ६–६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो निर्माण गरिएको छ। स्याफ्रुबेसीदेखि चिलिमे जलविद्युत् आयोजनाको टनेलसम्म भारी उपकरण लैजान सडकमा रहेको ठूलो ढुंगा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ।
चिलिमेमा विन्च मेसिन र बकेटको प्रयोग गरी टनेलभित्र जमेको माटो तथा debris हटाउने काम भइरहेको छ। संयुक्त टोली टनेलभित्र करिब ११५ मिटर प्रवेश गरी खोजीमा जुटेको भए पनि हालसम्म थप केही फेला नपरेको सेनाले जनाएको छ।
यसैगरी, माथिल्लो त्रिशूली–१ आयोजनाको मुख्य प्रवेश टनेलमा नेपाली तथा विदेशीसमेत सम्मिलित संयुक्त टोलीले करिब ४ सय मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा भने नेपाली सेनाका १०१ जना जनशक्ति तथा आयोजनाका प्रतिनिधिहरूको टोलीले तीनवटा एक्साभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म उत्खनन गरेर खोजी गरेको छ। आयोजनाको कार्यालय तथा आवासगृह क्षेत्रमा हालसम्म केही फेला नपरे पनि खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
पुल तथा बाटो पुनर्निर्माणमा पनि सक्रियता
बाढीबाट क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजसमेत परिचालन गरिएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा ५५ जना इन्जिनियरिङ जनशक्ति परिचालन गरी पुल निर्माणको काम तीव्र पारिएको छ।
बाढीबाट क्षतिग्रस्त भएका मध्ये मर्मत गर्न सकिने पाँचवटा झोलुङ्गे पुलको मर्मत भइरहेको छ भने थप १५ वटा झोलुङ्गे पुलको मर्मतका लागि तयारी भइरहेको सेनाले जनाएको छ। यस्तै, ढुंगे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि परामर्शसहित काम सुरु गरिएको छ।
९ हजारभन्दा बढी सैनिक परिचालन
प्रभावित क्षेत्रमा नेपाली सेनाले जमिनी खोज तथा उद्धारलाई समेत निरन्तरता दिएको छ। मैलुङदेखि स्याफ्रुबेसीसम्म पैदल गस्ती गरी सम्भावित प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा खोजी भइरहेको छ।
त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार ४८८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजारभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा सहजीकरण र आपत्कालीन उपचारलगायतका कार्य समन्वयात्मक रूपमा गरिरहेका छन्।
भोटेकोशी बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिपछि उद्धारसँगै प्रभावित क्षेत्रमा पहुँच पुनःस्थापना र अत्यावश्यक संरचना सञ्चालनमा ल्याउन नेपाली सेनाले खोज तथा उद्धार र पुनर्निर्माणका कामलाई एकसाथ अघि बढाएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्