पोखरा, भदौ २३ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर पानी थुनिएपछि खोला किनारका बस्तीमा उच्च सतर्कता अपनाइएको छ।
किम्रुङ खोला करिब ६ घण्टादेखि थुनिएको सूचना आएपछि प्रहरीले नयाँपुल, वीरेठाँटीलगायत आसपासका बस्तीमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार जनप्रतिनिधिबाट खोला थुनिएको जानकारी आएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोला किनारमा माइकिङ गरिएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बिहान करिब ६ बजेदेखि खोला थुनिएको थियो। अहिले पानी केही मात्रामा बग्न थाले पनि एक्कासि थुनिएको पानी खुलेमा जोखिम हुनसक्ने उहाँले बताउनुभएको छ।
किम्रुङ खोलामा यसअघि पनि पहिरो खसेर पानी थुनिएपछि बाढी आएको थियो। बाढीले वीरेठाँटी क्षेत्रमा सडक कटान गर्नुका साथै पुलसमेत बगाएको थियो। त्यसयता घान्द्रुक जाने सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
प्रहरीले खोला थुनिएको स्थानमा पानीको मात्रा बढ्दै गएमा अचानक बाढी आउन सक्ने भएकाले नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा रहन स्थानीयलाई आग्रह गरेको छ।
किम्रुङ खोला अन्नपूर्ण गाउँपालिका–११ हुँदै मोदी खोलामा मिसिन्छ। मोदी खोला पर्वत हुँदै कालीगण्डकी नदीमा पुगेर मिसिन्छ।














प्रतिक्रिया दिनुहोस्