जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार ०७:३७

रास्वपा समर्थकलाई हर्क साम्पाङको चेतावनी : मलाई गाली गरेर पीडितको उद्धार हुन्छ भने जति गाली गरे पनि हुन्छ


काठमाडौं, भदौ २४ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफूलाई गालीगलौज गर्नुभन्दा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गर्नुभएको छ।

बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला सरकारको उद्धार तथा राहत व्यवस्थापन सुस्त भएको भन्दै अध्यक्ष साम्पाङले सरकारको खोजी गर्न आफू प्रभावित क्षेत्रमा रहेको बताउनुभएको छ। उहाँले सुरक्षाकर्मी परिचालन भए पनि आवश्यक औजार तथा उपकरणको अभावमा उद्धार प्रभावकारी हुन नसकेको गुनासो गर्नुभएको छ।

रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमा आफूलाई आलोचना तथा गाली गरिरहेको उल्लेख गर्दै साम्पाङले त्यस्ता आलोचनाबाट आफू विचलित नहुने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “तपाइँहरुलाई धन्यवाद छ, मलाई गाली गर्नुभएकोमा । मज्जाले गाली गर्नु होला । तर पीडा उसैलाई हुन्छ, जसलाई चोट लागेको हुन्छ । देशलाई चोट लागेको छ । त्यो पीडा मलाई महसुस भएको छ । म रुन्छु, कराउँछु, बोल्छु, किनकि मलाई दुखेको छ ।”

उहाँले आफू प्रभावित क्षेत्रमा हराइरहेका नागरिकको खोजी र सरकारको उपस्थिति खोज्न पुगेको बताउनुभएको छ। “मैले यहाँ हराइरहेका जीवन खोजिरहेको छु । सरकारलाई खोजिरहेको छु । तपाइँहरुलाई लागेको होला, के खोजिरा भनेर । यहाँ तपाइँको सरकार खोजिरहेको हुँ,” उहाँले भन्नुभएको छ।

साम्पाङले उद्धारमा खटिएका सुरक्षाकर्मीलाई पर्याप्त औजार तथा उपकरण उपलब्ध नगराइएको भन्दै प्रश्नसमेत उठाउनुभएको छ। “औजार र उपकरणबिनाको सुरक्षाकर्मी उद्धारकर्ताको के काम ? पर्याप्त औजारसमेत रहेनछ,” उहाँले भन्नुभएको छ।

सरकारको राहत कोषमा ठूलो रकम जम्मा भएको भनिए पनि प्रभावित नागरिकसम्म राहत पुग्न नसकेको उहाँको गुनासो छ। उहाँले चिलिमे, त्रिशूली–१ लगायतका सुरुङमा फसेकाहरूको उद्धार हुन नसकेको भन्दै सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

“१४ अर्ब राहत कोषमा जम्मा भयो रे भन्ने सुनेँ, तर खोइ त त्यो पैसा कहिले प्रयोग गर्ने हो ? अझैसम्म चिलिमे, त्रिशूली–१ लगायतका सुरुङमा फसेकाहरूको उद्धार गर्न सकिएको छैन,” उहाँले भन्नुभएको छ।

गाउँगाउँमा राहत पुर्‍याउन नसकिएको भन्दै साम्पाङले एकै ठाउँमा राहत सामग्री थुपारेर मात्र सरकारको दायित्व पूरा नहुने बताउनुभएको छ। बाढीपहिरो प्रभावित नागरिकको भौतिक क्षतिसँगै उनीहरूमा परेको मनोवैज्ञानिक असरलाई समेत राज्यले गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाइ छ।

उहाँले आफू र आफ्नो टोली प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्न मात्र नभई उनीहरूको पीडा सुन्न र सान्त्वना दिनसमेत प्रभावित क्षेत्रमा बसेको बताउनुभएको छ। “म यहाँ पीडितलाई राहत दिन मात्रै होइन, उनीहरूको कुरा सुनिदिएर सान्त्वना दिन पनि बसिरहेको छु । सकेको सहयोग म र मेरो टिमले गरिरहेको छ,” उहाँले भन्नुभएको छ।

आफूलाई गाली गर्नेहरूलाई जवाफ दिँदै साम्पाङले त्यस्तो व्यवहारले पीडितको समस्या समाधान नहुने बताउनुभएको छ। “मलाई गाली गरेर पीडितले राहत पाउने, हराएकाहरू फर्केर आउने र घरबार गुमाउनेहरूको पुनर्वास हुने भए जति गाली गर्नु छ, गर्दा हुन्छ,” उहाँले भन्नुभएको छ।

उहाँले आफूलाई गाली गर्नु भनेको आकाशलाई थुक्नुजस्तै भएको टिप्पणी गर्दै भन्नुभएको छ, “आकाशलाई तपाइँको थुकले केही हुने होइन, आफ्नै अनुहार फोहोर हुने हो खासमा ।”