काठमाडौं, भदौ २४ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्माण गरिएका जेनजी सहिदका सालिकको अनुहार सम्बन्धित सहिदसँग नमिलेपछि अनावरण कार्यक्रम नै स्थगित भएको छ। सहिद परिवारले सालिक हेरेपछि असन्तुष्टि जनाउँदै आपत्ति जनाएपछि बुधवार तय गरिएको अनावरण कार्यक्रम रोकिएको हो।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा सालिक निर्माण गर्ने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले गरेको थियो। सोही सरकारको पालामा निर्माण सुरु गरिएका सालिकहरू एक वर्ष पूरा भएको अवसरमा अनावरण गर्ने तयारी गरिएको थियो।
कार्यक्रमका लागि सबै सहिद परिवारलाई निम्त्याइएको थियो। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल, तत्कालीन अन्तरिम सरकारका सञ्चार मन्त्री जगदीश खरेल तथा सांसद तोसिमा कार्कीलगायत सालिक अनावरणस्थलमा पुगेका थिए।
औपचारिक अनावरणअघि सहिद परिवारका सदस्यले सम्बन्धित सहिदको सालिक हेर्न पर्दा उघारेका थिए। तर सालिक देखेपछि परिवारजनले आफूहरूले उपलब्ध गराएको तस्बिरसँग अनुहार नमिलेको भन्दै चर्को असन्तुष्टि जनाए। कतिपय परिवारजनले निर्माणमा गम्भीर हेलचेक्र्याइँ भएको आरोपसमेत लगाए।
परिवारजनले मन्त्रीहरूसमक्ष गुनासो राखेपछि तत्कालका लागि अनावरण कार्यक्रम स्थगित गरिएको हो। मन्त्रीहरूले परिवारजनको असन्तुष्टि सम्बोधन गर्दै अब एक महिनाभित्र सबै सालिक पुनर्निर्माण गर्ने बताएका छन्।
एक सहिद परिवारका सदस्यले निर्माणमा भएको लापरबाहीप्रति आक्रोश व्यक्त गर्दै भने, “२४/२५ वर्षको व्यक्तिलाई ४०/४५ वर्षको जस्तो बनाइदिएको छ । कसरी स्वीकार गर्ने ?”
सहिदको सम्झना र सम्मानका लागि निर्माण गरिएका सालिक नै सम्बन्धित व्यक्तिको पहिचानसँग नमिलेपछि कार्यक्रम स्थगित हुनुले निर्माण प्रक्रियाको गुणस्तर र जिम्मेवारीमाथि प्रश्न उठेको छ। परिवारजनले सहिदको वास्तविक स्वरूप र पहिचान झल्किने गरी सालिक पुनर्निर्माण गर्न माग गरेका छन्। यो कार्यले सरकारको बेइज्जती भएको छ ।














प्रतिक्रिया दिनुहोस्