जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार १४:५५

विपत्तिमा पीडितलाई  तुच्छ गाली गर्ने रास्वपा कार्यकर्ता पार्टीबाट निष्कासित हुन्छन्, सरकारले पनि कारबाही गरोस् : रवि लामिछाने


काठमाडौं, भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई सामाजिक सञ्जालमार्फत तुच्छ गालीगलौज तथा साइबर बुलिङ गर्ने पार्टीका नेता–कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनी दिनुभएको छ।

बुधबार प्रतिनिधि सभा बैठकमा पार्टी संसदीय दलका तर्फबाट धारणा राख्दै लामिछानेले भोटेकोशी बाढीबाट सर्वस्व गुमाएका नागरिकको पीडामाथि राजनीति गर्न नहुने बताउनुभयो। उहाँले विपत्तिको समयमा पीडित नागरिकले व्यक्त गर्ने आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नु अस्वीकार्य भएको स्पष्ट पार्नुभयो।

“महाविपत्तिको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जालमा गर्ने तुच्छ टिप्पणी आजैबाट बन्द गरौँ,” लामिछानेले भन्नुभयो, “विपतमा परेको नागरिकलाई तुच्छ गाली गर्ने समर्थक रास्वपालाई चाहिएको छैन।”

उहाँले विपत्तिमा परेका नागरिकलाई गाली गर्ने तथा साइबर बुलिङ गर्ने रास्वपा कार्यकर्तामाथि तत्काल पार्टीबाट कारबाही गरिने घोषणा गर्नुभयो।

“सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने रास्वपा कार्यकर्तालाई तत्काल पार्टीबाट कारबाही गरिने छ,” उहाँले भन्नुभयो, “विपतमा परेका नागरिकलाई तुच्छ गाली गर्ने समर्थक रास्वपालाई चाहिएको छैन।”

लामिछानेले विपत्तिका बेला सरकारका कामकारबाहीलाई लिएर राजनीतिक आरोप–प्रत्यारोप गर्ने समय नभएको बताउनुभयो। राष्ट्रिय पीडालाई राजनीतिक विषय बनाएर लाभ लिन खोज्नु गलत भएको उहाँको भनाइ थियो।

“यो राजनीतिको रोटी सेक्ने समय होइन,” उहाँले भन्नुभयो, “राष्ट्रिय पीडालाई राजनीतिक विषय बनाउने छुट हामी कसैलाई छैन।”

उहाँले विपत्तिको समयमा देश र जनताप्रतिको दायित्व सबै राजनीतिक दलको समान भएको उल्लेख गर्दै अहिलेको राष्ट्रिय पीडालाई राष्ट्रिय शक्तिमा बदल्नुपर्ने बताउनुभयो। संकटका बेला सबै दलले देखाएको राष्ट्रिय एकतालाई उहाँले राजनीतिक परिपक्वता र संस्कारका रूपमा प्रशंसा गर्नुभयो।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूलाई लामिछानेले सामान्य प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले उनीहरूलाई जलवायु अन्यायका पीडितका रूपमा चित्रित गर्दै भविष्यमा जलवायु न्यायका लागि आवाज उठाउने आधारका रूपमा उनीहरूको बलिदानलाई स्मरण गर्नुपर्ने धारणा राख्नुभयो।

“भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरू प्रकृति विपत्तिका मृतक होइनन्, ती जलवायु अन्यायका पीडित हुन्,” लामिछानेले भन्नुभयो, “आफ्नो कुनै गल्ती नभए पनि जलवायु अन्यायबाट मृत्यु भएका उनीहरूलाई विश्वले कुनै न कुनै दिन सम्झने छ।”

उहाँले बाढीमा आफ्नै परिवार गुमाएका व्यक्तिले समेत अरूलाई सहारा दिएको तथा आफ्नै आँखाअगाडि मृत्यु देखेकाहरू उद्धारमा खटिएको भन्दै त्यस्तो मानवीय साहसको प्रशंसा गर्नुभयो। उद्धार तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी, घाइतेको उद्धार र उपचारमा संलग्न सबै क्षेत्रप्रति उहाँले आभार व्यक्त गर्नुभयो।

राज्य यतिबेला सर्वस्व गुमाएका नागरिकको छहारी बन्न र नागरिकको जीवनरक्षाका लागि खटिरहेको लामिछानेको भनाइ थियो। उहाँले उद्धारमा राज्यका सबै संयन्त्र परिचालित भइरहेको उल्लेख गर्दै विपत्तिको समयमा सबै पक्षले सहयोग र संयम प्रदर्शन गर्नुपर्ने बताउनुभयो।

लामिछानेले सरकारलाई पनि विज्ञप्तिमार्फत मात्र पीडितलाई गाली गर्नेहरुलाई कारबाहीको घोषणा नगरी दोषीमाथि वास्तविक कारबाही गरेर देखाउन आग्रह गर्नुभयो।

“सरकारले यस्ता घटनामा संलग्नलाई कारबाही गर्ने विज्ञप्ति निकाल्ने होइन, कारबाही गरेर देखाओस्,” उहाँले भन्नुभयो।

भोटेकोशी बाढीलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै लामिछानेले विपत्तिको कारणको गहिराइसम्म पुग्नुपर्ने र आगामी दिनमा जलवायु न्यायको लडाइँ अघि बढाउनुपर्ने बताउनुभयो।

“हामी यो विपत्तिको जरासम्म पुग्नुपर्ने छ। हामीले अब जलवायु न्यायको लडाइँ लड्नुपर्ने छ,” उहाँले भन्नुभयो।