काठमाडौं, भदौ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गते बालकोटस्थित आफ्नो घरमा भएको आगजनीको उद्देश्य सम्पत्ति जलाउनुमा मात्र सीमित नरहेको दाबी गर्नुभएको छ। उहाँले उक्त घटनामा केपी शर्मा ओलीलाई समेत निशाना बनाइएको दाबी गर्नुभएको हो।
बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त घर परिसरमा बुधबार आफ्नो अनुभूति समेटिएको पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन गर्दै शाक्यले आफूहरूले भोगेको घटनालाई स्मरण गर्नुभएको हो। उहाँले गत वर्षको भदौ २४ आफूहरूको जीवनकै सबैभन्दा भयावह दिनमध्ये एक रहेको बताउनुभयो।
शाक्यले घटनाको उद्देश्य घर र सम्पत्ति नष्ट गर्नु मात्रै नभएको दाबी गर्दै भन्नुभयो, “खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई नै जलाउने योजना थियो।”
उहाँले त्यतिबेला आफूहरूलाई ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको भए आजको दिन आफूहरूको पहिलो पुण्यतिथि हुने बताउनुभयो। “यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै एक वर्षको पुण्यतिथि हुन्थ्यो हाम्रो,” उहाँले भन्नुभयो।
शाक्यले पछिल्लो समय पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने क्रम नरोकिएको गुनासो गर्नुभयो। आफूहरू जीवनको अन्तिम समयसम्म देशको सेवा गर्ने भावनाका साथ अघि बढिरहेको उल्लेख गर्दै उहाँले राजनीतिक आरोप–प्रत्यारोपका बाबजुद आफूहरू कर्तव्यबाट विचलित नहुने बताउनुभयो। “एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाइरहेका छन्,” उहाँले भन्नुभयो।
शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने बताउँदै आफूहरूमाथि अन्याय गर्नेहरू नै अन्ततः पतन हुने दाबीसमेत गर्नुभयो। वर्तमान सरकार र आफूहरूमाथि भइरहेको व्यवहारबाट आफूहरू विचलित नहुने उल्लेख गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको उहाँको भनाइ थियो।
उहाँले आफूहरूले भोगेको पीडा र घटनाक्रमलाई पुस्तकमा दस्तावेजीकरण गरेको जानकारी दिनुभयो। ‘सपनाको भग्नावशेष’ मा भदौ २३ गतेदेखि सुरु भएका घटनादेखि त्यसपछिका विभिन्न घटनाक्रम र आफूले भोगेका अनुभूतिहरू समेटिएको उहाँले बताउनुभयो।
पुस्तक विमोचनका क्रममा शाक्यले गत वर्षको घटनालाई केवल व्यक्तिगत क्षति र पारिवारिक पीडाका रूपमा मात्र नभई आफूहरूले भोगेको एउटा राजनीतिक तथा सामाजिक अनुभवका रूपमा समेत प्रस्तुत गर्नुभएको छ। उहाँले जनताको माया र सद्भावकै कारण आफूहरू आज जीवित रहेको बताउँदै कठिन परिस्थितिमा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्