काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउनुअघि सदस्यहरूको आधिकारिक सनाखत अनिवार्य रहेको बताउनुभएको छ।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सदस्यहरूको आधिकारिक पहिचानबिनाको नामावलीका आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गर्नुभयो। पार्टी सभापतिलाई जानकारी नै नदिई विशेष महाधिवेशन बोलाउन नसकिने उहाँको भनाइ थियो।
पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै देउवाले विगतमा सुवर्णशमशेर पार्टी सभापति रहँदा पनि विशेष महाधिवेशन भएको स्मरण गर्नुभयो। त्यतिबेला पार्टी एकताबद्ध रहेको र सदस्य तथा प्रतिनिधिको खुला रूपमा पहिचान गरेर विशेष महाधिवेशन गरिएको उहाँले बताउनुभयो।
गगन थापाले विशेष महाधिवेशन बोलाउने कुरा गरेपछि आफूले पनि विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीसँग रहेको, तर त्यसअघि पार्टीका वास्तविक सदस्य को–को हुन् भन्ने विषयमा सनाखत हुनुपर्ने बताएको देउवाले स्मरण गर्नुभयो।
आफू पार्टी सभापति रहेका बेला विशेष महाधिवेशन बोलाउने विधि आफूलाई थाहा नभएको र गगन थापालाई मात्रै थाहा भएजस्तो गरी अघि बढेर महाधिवेशन गरिएको भन्दै देउवाले असन्तुष्टि जनाउनुभयो।
उहाँले भन्नुभयो, “पहिले सनाखत गराउनुप¥यो। त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खोल्टीबाट हालेको नामावलीले विशेष महाधिवेशन बोलाउन पाइन्छ ? ज्यानको खतरा त्यस्तो त्रास कसले फैलाएको छ ? विश्लेषण गरिनुप¥यो नि।”
कांग्रेससँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको देउवाले बताउनुभयो। अदालतले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै उहाँले त्यसपछि कांग्रेसको पक्षमा आधा जित भइसकेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “त्यसकारण सर्वोच्च अदालतप्रति मेरो विश्वास छ। सर्वोच्च अदालतले न्याय दिनेछ भन्ने विश्वास छ। रुख चिन्ह र चारतारा झण्डा नेपाली कांग्रेसले पाउनेछ भन्ने विश्वास छ। मलाई विश्वास छ, जित्ने गरी सर्वोच्चले न्याय दिनेछ।”
पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा पनि आफूहरूले मुद्दा जितेको तथा राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्ने अवस्थामा समेत अदालतबाट न्याय पाएको देउवाले स्मरण गर्नुभयो।
अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्च अदालतले निष्पक्ष न्याय दिनेमा आफ्नो विश्वास कायम रहेको उहाँले बताउनुभयो। अन्ततः नेपाली कांग्रेसले नै रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत देउवाले व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्