जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार २१:१२

भदौ २३–२४ को घटनाको हिसाबकिताब लिन्छौँ : कैलाश ढुंगेल


काठमाडौं, भदौ २४। नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले सत्यलाई जतिसुकै दबाउन खोजिए पनि अन्ततः सत्यकै जित हुने बताउनुभएको छ। उहाँले एमालेमाथि आक्रमण हुँदा मौन बसेकाहरूले अहिले त्यही आक्रमणको असर भोग्न थालेपछि वास्तविकता बुझ्न थालेको दाबी गर्नुभएको छ।

बुधबार एमाले सचिव महेश बस्नेतको गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलाइएको भक्तपुरस्थित घरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगेलले राजनीतिक आक्रमणको निशाना विस्तार हुँदै गएपछि धेरै व्यक्ति एउटै ठाउँमा उभिन बाध्य भएका बताउनुभयो। “एमालेलाई सिध्याउनका लागि मान्छेलाई उक्साउने काम गरियो। जब त्यो लौरो उनीहरूको टाउकोमा पनि आयो, त्यसपछि एक ठाउँमा उभिन आइपुगेका छन्। अहिले सबैलाई ठटाउन लागेपछि कुरा एउटै रहेछ भन्ने चेतना मानिसमा आएको छ,” उहाँले भन्नुभयो।

अध्यक्ष ढुंगेलले सत्यको पक्षमा उभिन राजनीतिक दल र नेताहरूलाई आग्रह गर्नुभयो। सत्यको पक्षमा नहिँडी सत्यको जित सम्भव नहुने उहाँको भनाइ थियो। “एक दिन सत्यको जित त हुन्छ–हुन्छ। तर त्यसका लागि हामी सत्यको मार्गमा हिँड्नुपर्छ। सत्य मार्गमा हिँडिएन भने सत्यको जित हुन सक्दैन,” उहाँले भन्नुभयो।

उहाँले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेमाथि निरन्तर आरोप तथा राजनीतिक घेराबन्दी गरिएको दाबी गर्नुभयो। ओलीलाई मात्रै दोष दिएर आफूहरू उम्किन नसक्ने भन्दै उहाँले ओलीलाई राष्ट्रवादी नेताका रूपमा चित्रण गर्नुभयो।“अहिले केपी ओलीलाई खेद्नु खेदिएको छ, एमालेलाई खेदिएको छ। केपी ओलीलाई दोष लगाएर हामी उम्किन पाउँदैनौँ। एउटा राष्ट्रवादी नेतालाई खेद्ने काम भएको छ,” अध्यक्ष ढुंगेलले भन्नुभयो।

उहाँले एमालेमाथि भएको आक्रमण र त्यसपछि विकसित घटनाक्रमलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। भदौ २३ र २४ गते भएका घटनाको भविष्यमा हिसाबकिताब हुने उहाँको चेतावनी थियो। “भदौ २३ र २४ गतेको घटनाको हिसाबकिताब हामी लिन्छौँ,” उहाँले भन्नुभयो।

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा आएमा वर्तमान सरकारका मन्त्रीहरू कानुनी कारबाहीमा पर्न सक्ने दाबीसमेत अध्यक्ष ढुंगेलले गर्नुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन र प्रतिवेदन कार्यान्वयनलाई राजनीतिक जवाफदेहितासँग जोड्नुभयो।

कार्यक्रममा उहाँले भदौ २३ र २४ गतेका घटनालाई लिएर राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो। सिंहदरबार जोगाउन सकिने वा नसकिने विषयलाई लिएर भइरहेको बहसप्रति पनि उहाँले प्रश्न उठाउनुभयो। “दलालहरूले जे–जे भने त्यही गरेको भए सिंहदरबार बच्थ्यो कि भन्ने मानिसहरू परिभाषा गर्छन्। के त्यो सम्भव छ ?” उहाँले प्रश्न गर्नुभयो।

यसैगरी, निर्वाचनमा कम मत आएको दोष केपी शर्मा ओली र महेश बस्नेतलाई मात्रै दिएर आफूहरू जिम्मेवारीबाट उम्किन नसक्ने उहाँले बताउनुभयो । “भोट कम आएको दोष केपी ओली र महेश बस्नेतलाई लगाए के हामी निदाउन सक्छौँ ?” उहाँले प्रश्न गर्नुभयो।

अध्यक्ष ढुंगेलले देशमा भएको राजनीतिक तथा सामाजिक ध्रुवीकरणलाई लिएर पनि चिन्ता व्यक्त गर्नुभयो। देश जलाउने र लोकतन्त्र तथा गणतन्त्रको पक्षमा उभिने शक्तिलाई एउटै मापदण्डमा राख्न नहुने उहाँको भनाइ थियो।

“नेपाली जनता अब कि हस्तिनापुरको बास कि चपरिमुनिको बास भनेर लाग्नुपर्छ। देश जलाउनेहरूको हस्तिनापुरको बास, लोकतन्त्रवादी गणतन्त्रवादीको चपरिमुनिको बास—यो हुन सक्दैन,” उहाँले भन्नुभयो।

उहाँले पछिल्लो राजनीतिक घटनाक्रममा सत्य र जिम्मेवारीको प्रश्न महत्वपूर्ण रहेको बताउँदै एमालेमाथि भएका आक्रमणको तथ्य र घटनाक्रम समयसँगै स्पष्ट हुँदै जाने दाबी गर्नुभयो।