जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार २१:२१

ग्यास व्यवसायीलाई ‘पाता कस्ने’ मन्त्रीको धम्कीप्रति आपत्ति, प्रधानमन्त्री कार्यालयमा जानकारी


काठमाडौं, भदौ २४ ग्यास आपूर्तिसम्बन्धी विषयमा नेपाल आयल निगममा छलफल भइरहेका बेला उद्योगमन्त्री गौरी यादवले व्यवसायीहरूलाई ‘पाता कस्ने’ र उद्योगको लाइसेन्स खारेज गर्ने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै ग्यास उद्योगीहरूले आपत्ति जनाएका छन् ।

बजारमा ग्यास आपूर्ति कसरी सहज बनाउने भन्ने विषयमा उद्योगीहरू नेपाल आयल निगमसँग छलफल गरिरहेका बेला मन्त्री यादवले व्यवसायीप्रति यस्तो अभिव्यक्ति दिएको उनीहरूको भनाइ छ । मन्त्रीको अभिव्यक्ति अपमानजनक र गैरजिम्मेवार भएको भन्दै व्यवसायीहरूले तत्काल शब्द फिर्ता लिन माग गरेका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले मन्त्रीले अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।

उहाँले मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयमा प्रधानमन्त्री कार्यालयमा समेत टेलिफोनमार्फत जानकारी गराइएको बताउनुभयो ।

उहाँका अनुसार, विपद् वा अप्ठ्यारो परिस्थितिमा व्यवसायीहरूसँग सहकार्य गरी ग्यास आपूर्ति सहज बनाउनुपर्ने अवस्थामा मन्त्रीले उल्टै व्यवसायीलाई धम्की दिने शैलीमा प्रस्तुत हुनु उचित होइन ।

घिमिरेले भन्नुभयो, “मन्त्रीले ग्यास व्यवसायीलाई पाता कस्ने अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ । मन्त्रीको यस किसिमको व्यवहार र अभिव्यक्तिका विषयमा हामीले प्रधानमन्त्री कार्यालयमा टेलिफोन गरी जानकारी गराएका छौँ । यो शब्द फिर्ता लिन भनेका छौँ।”

उद्योगीहरूले समस्या समाधानका लागि सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको भन्दै मन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले आफूहरूलाई निराश बनाएको बताएका छन् ।

मन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए आन्दोलनमा जाने उनीहरूको चेतावनी छ ।