काठमाडौं, भदौ २५ । सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने सत्तारुढ दलकै सांसदहरूलाई गृहमन्त्री सुधन गुरुङले धम्क्याउने गरेको भन्ने समाचार तथा चर्चा बाहिर आइरहेकाे बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ।
सत्तारुढ दलकै सांसदहरूले सरकारका कामप्रति प्रश्न गर्न थालेका बेला प्रश्न उठाउने जनप्रतिनिधिलाई धम्की र चेतावनीको भाषा प्रयोग गर्नु लोकतान्त्रिक अभ्यासविपरीत हुने उहाँको धारणा छ। धितालले प्रश्न गर्नुभएको छ, “अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ ?”
उहाँले गत वर्षको Gen Z आन्दोलन स्मरण गर्दै त्यतिबेला आफूहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र निरंकुश सत्ताको विरोधमा आवाज उठाएको बताउनुभएको छ। राज्यले नागरिकका प्रश्न सुन्नुपर्ने र सत्ता विनम्र हुनुपर्ने मागसहित सडकमा उत्रिएको स्मरण गर्दै अहिले त्यही मूल्यविपरीतको व्यवहार देखिनु विडम्बना भएको उहाँको भनाइ छ। “पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ?” उहाँले प्रश्न गर्नुभएको छ।
त्यतिबेला राज्यले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै आन्दोलन गरिएको स्मरण गर्दै धितालले अहिले आफूहरू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएका छौँ कि त्यसलाई कमजोर बनाउने दिशामा अघि बढिरहेका छौँ भन्ने आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ। “त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौँ हामी। के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ?” उहाँले प्रश्न गर्नुभएको छ।
गृहमन्त्रीको धम्कीको चर्चाले सत्ताको शैलीमाथि प्रश्न
सरकारका कामकारबाहीमा प्रश्न उठाउने सत्तारुढ दलकै सांसदहरूलाई नै गृहमन्त्रीबाट धम्की वा चेतावनी दिइएको भन्ने विषय बाहिरिनुले सत्ताको शैलीमाथि गम्भीर प्रश्न उठेको छ।
जनप्रतिनिधिले सरकारका कमजोरी औँल्याउनु लोकतान्त्रिक व्यवस्थाको स्वाभाविक प्रक्रिया भएकाले त्यसको जवाफ धम्कीबाट नभई तथ्य र काममार्फत दिनुपर्ने धितालको अभिव्यक्तिको आशय छ।
उहाँले सरकारमा पुगेपछि आफूहरूले विगतमा उठाएका प्रश्न र मूल्यलाई बिर्सन नहुने बताउनुभएको छ। आफूहरूले अरूलाई मात्रै सुध्रिनुपर्ने बताउने तर आफ्नै व्यवहार सुधार्न नचाहने प्रवृत्तिले आन्दोलनका उद्देश्य नै कमजोर पार्ने उहाँको टिप्पणी छ। “सुध्रिनु अरुले मात्रै पर्ने। हामीले चाहिँ सुध्रिनु नपर्ने?” उहाँले प्रश्न गर्नुभएको छ।
Gen Z सहिदको नाममा गरिएको कार्यक्रमप्रति पनि आक्रोश
धितालले Gen Z आन्दोलनको एक वर्ष पुगेको अवसरमा बीआईसीसी अगाडि आयोजित सहिद स्मृति कार्यक्रमप्रति समेत तीव्र असन्तुष्टि जनाउनुभएको छ।
उहाँले कार्यक्रमको स्वरूप, स्टेज निर्माण तथा धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि प्रश्न गर्दै त्यसले आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएका परिवारको पीडा कसरी सम्बोधन गर्यो भन्ने आफूले बुझ्न नसकेको बताउनुभएको छ। “Gen Z आन्दोलनको एक वर्ष पुग्यो भन्दैगर्दा मन यस्सै बिथोलिएको थियो। तर BICC अगाडि Gen Z सहिदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि म अवाक छु,” उहाँले भन्नुभएको छ।
उहाँले आफूलाई कताकता Gen Z सहिद र घाइतेहरूको अपमान भइरहेको महसुस भएको बताउनुभएको छ। “त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन्, जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् ?” उहाँको प्रश्न छ।
आन्दोलनको आवाजलाई अगाडि बढाएका तथा सरकारका काममाथि निरन्तर प्रश्न उठाएका व्यक्तिहरूले समेत कार्यक्रमको स्वरूपबारे समयमै हस्तक्षेप गर्न नसकेकोमा उहाँले प्रश्न गर्नुभएको छ।
बाढीपीडित महिला–बालिकाको सुरक्षामा पनि सरकारलाई प्रश्न
धितालले रसुवामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार व्यवस्थापनमा महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिनसमेत सरकारसँग आग्रह गर्नुभएको छ।
सरकारी तथा सामुदायिक तहबाट भएको उद्धार र राहतका कारण करिब चार हजार प्रभावित नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको उल्लेख गर्दै उहाँले अस्थायी आश्रयस्थलमा महिला तथा बालबालिकाको सुरक्षा र गोपनीयताको विषय संवेदनशील रहेको बताउनुभएको छ। “आफ्नै घरमा समेत महिलाको सुरक्षा चुनौतीपूर्ण हुने हाम्रो सामाजिक परिवेशमा अपरिचित व्यक्तिहरूसँग एउटै कोठा साझा गर्नुपर्दा उनीहरूको अस्मिता र सुरक्षाको अवस्था कस्तो होला ?” उहाँले प्रश्न गर्नुभएको छ।
उहाँले राहत कोषमा नागरिकको स्वतःस्फूर्त सहयोगबाट जम्मा भएको स्रोत परिचालन गरी तत्काल अस्थायी आवासको व्यवस्था गर्न, सकेसम्म परिवारलाई एकै ठाउँमा राख्न तथा उद्धार र राहतसँगै सामाजिक पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ। “उहाँहरूलाई सम्मानपूर्वक पुनः आफ्नो खुट्टामा उभिन सक्ने अवस्थासम्म पुर्याउनु नै राहत हो,” धितालले भन्नुभएको छ।
गृहमन्त्रीबाट सांसदलाई धम्की दिइएको भन्ने विषयमा भने सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ। गृह मन्त्री गुरुङले पत्रकार र विपक्षी दलका नेताहरुलाई भने सार्वजनिक मञ्चबाटै धम्की दिँदै आउनु भएकाे छ । पत्रकारहरुलाई किटान नै गरेर ती चार जनालाई छाड्दिन भन्दै सार्वजनिक धम्की दिनुभएकाे छ भने । विपक्षी दलका नेताहरुलाई अब हेलिकप्टर अब हाम्राे हातमा छ । अब तिमीहरुलाई बचाउन कसैले उडाउन सक्दैन भन्दै सार्वजनिक मञ्चबाट धम्की दिनुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्