जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार १४:००

उद्योगमन्त्री गौरी यादवले दिइन राजीनामा


काठमाडौं, भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

मन्त्री यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव देखिँदा उपभोक्ताले सास्ती खेपिरहेका थिए। ग्यास अभावको समस्या समाधान गर्न प्रभावकारी पहल नगरेको भन्दै मन्त्री यादवको आलोचना समेत हुँदै आएको थियो।

उपभोक्ताले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र विशेषगरी ग्यासको नियमित आपूर्तिको माग गरिरहेका बेला मन्त्रालयको नेतृत्वप्रति प्रश्न उठ्दै आएको थियो। यही पृष्ठभूमिमा मन्त्री यादवको राजीनामालाई चासोका साथ हेरिएको छ।

मन्त्री यादवले राजीनामा दिनुको औपचारिक कारण भने सचिवालयले सार्वजनिक गरेको छैन। तर हिजाे संसदीय समितिकाे बैठकमा व्यवसायीहरु ग्याँस लुकाएकाे भन्दै उनीहरुलाई पाता कस्नु पर्ने विवादास्पद अभिव्यक्ति मन्त्री यादवले दिनुभएकाे थियाे । साथै उहाँले कर्मचारीहरुले व्यावसायीसँग मिलेर काम नै गर्न नदिने गुनासाे गर्नुभएकाे थियाे ।