काठमाडौं, भदाै २५ । भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा खोजी कार्यको समीक्षा गर्दै प्रतिनिधिसभाका विपक्षी दलहरूले अब प्रभावित नागरिकको पुनर्स्थापनालाई मुख्य प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्नुभएको छ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी दलहरूको बैठकमा विपद्पछिको सरकारी कामकारबाही, सर्वदलीय बैठकबाट तय गरिएका प्राथमिकता तथा ती निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार सर्वदलीय बैठकमा तय गरिएका विषयमध्ये सरकारले कति कार्यान्वयन गरेको छ र कति विषय अझै बाँकी छन् भन्नेबारे बैठकमा विस्तृत छलफल भएको छ। विपद्को समयमा सरकार, प्रदेश तथा स्थानीय तहबीच अझ प्रभावकारी समन्वय हुनुपर्ने विषयमा समेत बैठकमा जोड दिइएको उहाँले बताउनुभएको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा प्रस्ताव गर्नुभएको विशेष संसदीय समिति गठनको विषयमा समेत छलफल भएको प्रमुख सचेतक थापाले बताउनुभयाे। त्यसैगरी प्रधानमन्त्रीको अमेरिका भ्रमणका विषयमा समेत विपक्षी दलका नेताहरूबीच छलफल भएको छ।
विपद् व्यवस्थापनमा संघीय सरकार मात्रै नभई प्रदेश तथा स्थानीय सरकारसमेत सक्रिय रहे पनि उपलब्ध स्रोत, साधन र जनशक्तिको अझ प्रभावकारी परिचालन गर्न सकिने अवस्था रहेको विपक्षी दलहरूको निष्कर्ष रहेको छ। विपद्को सुरुवाती चरणमै सबै पक्षसँग पर्याप्त परामर्श र समन्वय गर्न सके उद्धार तथा राहत कार्य अझ प्रभावकारी बन्न सक्ने धारणा बैठकमा राखिएको छ।
यसैगरी नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि बाढीपछि भइरहेको उद्धार, खोजी तथा राहतका कामबारे बैठकमा समीक्षा गरिएको बताउनुभएको छ।
उहाँले विपद् व्यवस्थापनका क्रममा सरकारबाट केही कमीकमजोरी भएको देखिएको उल्लेख गर्दै सुरुदेखि नै सम्बन्धित सबै पक्षबीच प्रभावकारी सल्लाह र समन्वय हुन सके थप नागरिकको जीवन जोगाउन सकिने अवस्था रहेको धारणा राख्नुभएको छ।
उपनेता अर्यालले अब सरकारको ध्यान प्रभावित नागरिकको पुनर्स्थापनातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ। बाढीका कारण घरबार, पूर्वाधार तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकलाई सुरक्षित रूपमा पुनर्स्थापना गर्ने तथा प्रभावित क्षेत्रको पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ छ।
विपद्को कठिन समयमा विपक्षी दलहरू सरकारको साथमा रहेको स्पष्ट पार्दै उहाँले सरकारका सकारात्मक काममा सहयोग गर्ने, तर उद्धार, राहत तथा पुनर्स्थापनाका क्रममा देखिएका कमीकमजोरीलाई आवश्यकताअनुसार संसद्मा उठाउने बताउनुभयाे।
बैठकले विपद् व्यवस्थापनलाई राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि राख्दै प्रभावित नागरिकको जीवनरक्षा, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारलाई थप प्रभावकारी ढंगले अघि बढ्नुपर्ने सन्देश दिएको छ।














प्रतिक्रिया दिनुहोस्