जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार १५:५१

रास्वपा महामन्त्रीले २४ भदौको आन्दोलनलाई भने– विध्वंस


काठमाडौं, भदौ २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले २४ भदौ २०८२ मा भएको आन्दोलनलाई ‘विध्वंस’को संज्ञा दिनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले आफू घरबाट महाराजगन्ज, नक्सालको भाटभटेनी हुँदै सदन आउने गरेको बताउनुभयो ।

‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ उहाँले भन्नुभयो ।

तर सिंहदरबार प्रवेश गर्दा जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे अवस्थामा देखिने गरेको उहाँले बताउनुभयो । नयाँ संसद् भवनमा बैठक बस्ने भनिए पनि अझै अस्थायी भवनबाटै सांसदहरूले आफ्ना कुरा राख्नुपरेको उहाँको भनाइ थियो ।

‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।

गत वर्ष २४ भदौमा भएको तोडफोड र आगजनीमा नक्सालको भाटभटेनीसमेत परेको थियो । हाल उक्त भाटभटेनी पुनर्निर्माण भइसकेको छ । आचार्यले निजी क्षेत्रले गरेको पुनर्निर्माणलाई सकारात्मक कामका रूपमा प्रस्तुत गर्नुभएको हो ।

तर सरकारी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको पुनर्निर्माण अझै हुन नसकेको भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।