काठमाडौं, भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक साह सो पदमा नियुक्त हुनुभएको छ ।
नवनियुक्त मन्त्री साहले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ । शपथग्रहण गरेसँग साहले आजै पदभार समेत ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण पछि साहले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफूले काम सुरु गर्ने बताए । आम नागरिकले ग्यास नपाएको मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने उहाँले बताउनुभयो ।
पेसाले मेकानिकल इन्जिनियर रहनुभएका साह सुनसरी–४ बाट निर्वाचित सांसद हुनुहुन्छ। यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध साहले जनमत पार्टीबाट कारबाहीमा परेपछि आफ्नै नेतृत्वमा सर्वोदय पार्टी गठन गर्नुभएको थियो। निर्वाचनअघि भने उहाँ रास्वपामा प्रवेश गर्दै सुनसरी–४ बाट उम्मेदवार बन्नुभएकाे थियो ।
पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको अभाव उहाँका लागि पहिलो परीक्षा बन्ने देखिन्छ। ग्यासको सहज आपूर्ति हुन नसकेको विषयलाई लिएर मन्त्रालय र सरकारमाथि चौतर्फी प्रश्न उठिरहेका बेला त्यसको दीर्घकालीन समाधान खोज्नु नयाँ उद्योग मन्त्रीका लागि प्रमुख चुनौती हुनेछ।
सोही समस्याकै कारण विवादमा फसे पछि आज मात्रै गौरीकुमारीले पदबाट राजीनामा दिनुभएको थियो । उहाँले हिजो संसदीय समितिमा व्यवसायीहरुकाे पाता नफर्काएसम्म ग्याँसको समस्या समाधान नहुने विवादित अभिव्यक्ति दिनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्