काठमाडौं, भदौ २५ । गर्भवती महिलालाई पैसा नभएकाे कारण अस्पतालमा भर्ना नगरेपछि अस्पतालको मूल गेटमै बच्चा जन्माउन बाध्य भएको घटना सार्वजनिक भएपछि गजेन्द्रनारायण सिंह अस्पतालले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्तरिक छानबिन अघि बढाउने बताएको छ। घटनाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा आज अस्पताल पुगेर सम्बन्धित पक्षसँग बुझ्नुभएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले आज सार्वजनिक गरेको विज्ञप्तिमा अस्पताल परिसरको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटनाबारे सामाजिक सञ्जालमा सामग्री सार्वजनिक भएपछि अस्पतालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
अस्पतालका अनुसार भदौ २४ गते बिहान करिब २ बजे G4 P3 अवस्थाकी ३० वर्षीया वविता कुमारी पासवान अस्पताल पुग्नुभएको थियो। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उहाँलाई प्रसूति वार्डको शय्या नम्बर २४ मा भर्ना गरिएको र आवश्यक जाँचसम्बन्धी रिपोर्ट नभएकाले थप परीक्षण गर्न सुझाव दिइएको अस्पतालले जनाएको छ।
तर अस्पतालको भनाइअनुसार उहाँ र उहाँका कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नरहनुभएको र सोही दिन बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी प्राप्त भएको थियो।
घटनापछि भने आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा ल्याई उपचार तथा आवश्यक स्वास्थ्य निगरानीमा राखिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
अस्पतालले प्रसूतिपछि आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक आग्रह गरिएको भए पनि उहाँ अस्पतालबाट बाहिरिनुभएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
यद्यपि, घटनाको वास्तविकता पत्ता लगाउन अस्पताल प्रशासनले निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ। छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुन तथा नियमअनुसार आवश्यक कारबाही गर्ने प्रतिबद्धता अस्पतालले व्यक्त गरेको छ।
अस्पतालले घटनाप्रति गम्भीरता देखाउँदै आमा र बच्चाको स्वास्थ्यलाभका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा सेवा निःशुल्क उपलब्ध गराउने निर्णयसमेत गरेको जनाएको छ।
घटना सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा आज अस्पताल पुगेर घटनाको वास्तविक अवस्थाबारे जानकारी लिनुभएको हो। उहाँले अस्पताल प्रशासन तथा सम्बन्धित स्वास्थ्यकर्मीसँग घटनाको कारण, बिरामीको उपचार प्रक्रिया र अस्पतालको व्यवस्थापनबारे जानकारी लिनुभएको बताइएको छ।
अस्पतालले समेत आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह, प्रसूति सेवा व्यवस्थापन तथा सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
अस्पतालले घटनाको पूर्ण सत्यतथ्य छानबिनबाट बाहिर नआएसम्म सामाजिक सञ्जालमा आएका अपूर्ण वा एकपक्षीय सूचनाका आधारमा निष्कर्षमा नपुग्न आग्रह गरेको छ। साथसाथै सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण र प्रसारमा सहयोग गरिदिन सबै सरोकारवालासँग आग्रह गरेको छ।















प्रतिक्रिया दिनुहोस्