काठमाडौं, भदौ २६ । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्यमा प्रगति भइरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्वप्रबन्ध–निर्देशक कुलमान घिसिङ उद्धार कार्यमा प्रत्यक्ष सहभागी हुँदै आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहनुभएको छ ।
घिसिङले विद्युतगृह सञ्चालनको आफ्नो अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव दिँदै समन्वय र सहजीकरण गरिरहेको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा तथा ढुंगा हटाउने कार्य तीव्र गतिमा भइरहेको छ । उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर सुरुङभित्र अगाडि बढिरहेको उहाँले बताउनुभएको छ ।
उद्धारका क्रममा सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिएको तथा त्यहाँबाट चिसो हावा समेत आइरहेको उहाँले जानकारी दिनुभएको छ । यी संकेतले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशालाई थप बल पुगेको घिसिङको भनाइ छ ।
हाल उद्धार टोली विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभएको छ । प्रत्येक मिटरको प्रगति र प्राप्त भइरहेका प्रत्येक संकेतले उद्धारमा खटिएका सबैमा नयाँ आशा जगाएको उहाँले उल्लेख गर्नुभएको छ ।
यसैबीच, स्याफ्रुबेँसीतर्फबाट स्केभेटरमार्फत सुरुङसम्म पुग्ने बाटो निर्माणको कामसमेत तीव्र रूपमा अघि बढिरहेको छ । आजसम्ममा स्केभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको घिसिङले जानकारी दिनुभएको छ । स्केभेटर र लोडर सुरुङसम्म पुगेपछि उद्धार कार्यलाई थप तीव्रता दिन सकिने उहाँको भनाइ छ ।
उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको घिसिङले बताउनुभएको छ ।
उहाँले कठिन तथा संवेदनशील अवस्थामा निरन्तर उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ ।
त्यसैगरी, उद्धार कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सबैप्रति पनि उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।
घिसिङले उद्धारमा खटिनुभएका सबैको अथक प्रयास सफल होस् र सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस् भन्ने कामनासमेत गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्