काठमाडौं, भदौ २६ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गाखोलामा पहिरो खसेर बनेको ड्यामको माथिबाट पानी बग्न लागेकाे छ ।
खाेलामा ड्याम बनेपछि प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको हुङ्गाखोलामा शुक्रबार बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको प्रहरीले जनाएको छ ।
पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र करिब १५ मिटर अग्लो ड्याम बनेको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
प्रहरी टोलीले नदी तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा हुङ्गाखोलामा सञ्चालित गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराएको छ । साथै, ती आयोजनामा कार्यरत कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरिएको प्रहरीले जनाएको छ ।
हुङ्गाखोलाको पानी महाकुलुङ गाउँपालिका–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ । त्यसपछि उक्त नदी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने भएकाले तटीय क्षेत्रमा थप सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो ।
प्रहरीका अनुसार बिहान करिब ९ः१० बजे पहिरोका कारण खोलामा बनेको ड्यामको ताल भरिएपछि पानी निकास हुन सुरु भएको छ । घटनाबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले थप विवरण संकलन तथा घटनास्थलको अवस्था बुझ्ने कार्य भइरहेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्