जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार १५:०४

एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल बैठकमा प्रतिवेदन पेस, छलफलका लागि शनिबार आवासीय बैठक बस्ने


काठमाडौं, भदौ २६ । नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो।

एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा कार्यदलका संयोजक थापाले महासचिव तथा कार्यदलका सदस्य शंकर पोखरेलले तयार गर्नुभएको प्रतिवेदनसँगै आफ्नो छुट्टै ‘डकुमेन्ट’ पनि प्रस्तुत गर्नुभएको छ। बैठकमा एकैपटक दुईवटा ‘डकुमेन्ट’ प्रस्तुत भएपछि दुवै सामग्री अध्ययनका लागि कार्यदलका सदस्यहरूलाई समय दिइएको छ।

कार्यदलले दुवै ‘डकुमेन्ट’को अध्ययनपछि मूल विषयमा छलफल गर्ने तयारी गरेको छ। त्यसका लागि शनिबार कार्यदलको आवासीय बैठक बस्ने निर्णय भएको छ । 

आवासीय बैठकबाट निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी विषयलाई समेटेर एउटै प्रतिवेदन तयार गरिनेछ। उक्त प्रतिवेदन पार्टी सचिवालय बैठक तथा आगामी असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश गरिने तयारी छ।

कार्यदलले निर्वाचनको समीक्षा गर्दै पार्टीको आगामी संगठनात्मक दिशा र पुनर्गठनका विषयमा आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्ने बताइएको छ। शनिबारको आवासीय बैठकलाई त्यसका लागि निर्णायक छलफलका रूपमा हेरिएको छ।