काठमाडौं, भदौ २६ । बाढी पहिरोबाट प्रभावित रसुवा, नुवाकोटसहितका विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा स्वास्थ्य उपचारका कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाले शुक्रबार साँझ ५ः३० बजेसम्म हवाई साधनमार्फत थप ३० जनाको उद्धार गरेको जनाएको छ।
सेनाका अनुसार गत भदाै १० गतेकाे बाढीबाट प्रभावित भएका मध्ये हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ८ सय ५४ र विदेशी २ सय ८३ गरी कुल ४ हजार १३७ जनाको उद्धार गरिएको छ।
बाढी पहिरोबाट प्रभावित जलविद्युत् आयोजनाका टनेल तथा आसपासका क्षेत्रमा समेत संयुक्त टोली परिचालन गरी खोजी तथा उद्धार कार्य जारी राखिएको छ। रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना तथा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र खोजी गरिरहेको छ।
लाङटाङ हाइड्रोपावरमा नेपाली सेनाको टोलीले टनेलभित्र प्रवेश गरी खोजी कार्यलाई निरन्तरता दिएको छ। त्यसैगरी चिलिमे हाइड्रोमा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले टनेलभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। भारी उपकरण लैजानका लागि टनेलसम्म पुग्ने बाटो निर्माण सम्पन्न भइसकेकाले थप खोजी कार्यलाई तीव्र पारिएको सेनाले जनाएको छ।
लाङटाङको माथिल्लो त्रिशूली–१ अन्तर्गत हाकुबेशीस्थित अडिट–१ टनेलमा पनि नेपाली सेनाको टोलीले ड्रोनमार्फत टनेल आसपास करिब २०० मिटर क्षेत्रको रेकी गरी खोजी गरिरहेको छ। हालसम्म उक्त क्षेत्रमा कुनै शंकास्पद वस्तु वा व्यक्ति फेला नपरेको जनाइएको छ।
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावरहाउस तथा टनेल क्षेत्रमा संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ भने त्रिशूली–३ बी आयोजनामा पनि संयुक्त टोलीबाट खोज तथा उद्धार कार्य जारी रहेको छ।
यसैगरी प्रभावित क्षेत्रका रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले जमिनबाट समेत खोजी कार्यलाई निरन्तरता दिएको छ। त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायतका क्षेत्रमा सेनाका टोलीले पैदल गस्ती गर्दै सम्भावित प्रभावित तथा बेपत्ताको खोजी गरिरहेका छन्।
उद्धारसँगै प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई पनि प्राथमिकता दिइएको छ। रसुवाको स्याफ्रुबेँसीस्थित होल्डिङ सेन्टरमा नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट शुक्रबार ५४ जना प्रभावितले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट शुक्रबार थप ८५ जनाले स्वास्थ्य सेवा लिएका छन्। ती स्वास्थ्य केन्द्र तथा मेडिकल सेवाबाट हालसम्म कुल ३ हजार ६६५ जनाले स्वास्थ्य उपचार प्राप्त गरिसकेको सेनाले जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
प्राकृतिक विपद्पछि दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेका बेला नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट खोज तथा उद्धारलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ। प्रभावित जलविद्युत् आयोजनाका टनेलमा विशेष टोली परिचालन गरी सम्भावित जोखिमबीच पनि खोजी कार्यलाई निरन्तरता दिइएको छ।














प्रतिक्रिया दिनुहोस्