जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार २१:४१

एमाले अध्यक्ष केपी ओलीद्वारा नुवाकोट–रसुवामा राहत तथा उद्धारका लागि खटिने टोलीलाई बिदाइ


काठमाडौं, भदौ २६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोबाट प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको नेकपा एमाले सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई बिदाइ गर्नुभएको छ।

अध्यक्ष ओलीले शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राहत तथा उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा जान लागेको टोलीलाई आवश्यक निर्देशनसमेत दिनुभएको हो।

उहाँले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन टोलीले स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।

बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था कठिन रहेकाले मानवीय सेवाको भावनासहित राहत तथा उद्धारमा सक्रिय हुन अध्यक्ष ओलीले टोलीलाई निर्देशन दिनुभएको छ। प्रभावित क्षेत्रमा पुगेर वास्तविक अवस्थाको जानकारी लिने, आवश्यकताका आधारमा राहत सामग्री वितरण गर्ने तथा उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्‍याउने गरी टोली परिचालन हुन लागेको हो।

अध्यक्ष ओलीले विपद्का बेला राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडित नागरिकको जीवनरक्षा र राहतलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। प्रभावित नागरिकको दुःखमा साथ दिन पार्टीका नेता तथा कार्यकर्ताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

टोलीले नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रमा पुगेर राहत वितरण तथा उद्धार कार्यमा सहयोग गर्ने जनाइएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन पार्टीका विभिन्न संरचना र कार्यकर्तालाई परिचालन गर्ने अभियानअन्तर्गत टोली खटिन लागेको हो।

बिदाइ कार्यक्रममा अध्यक्ष ओलीले टोलीका सदस्यहरूलाई सुरक्षित रूपमा प्रभावित क्षेत्रमा पुगेर मानवीय सेवामा जुट्न तथा स्थानीय आवश्यकता र परिस्थितिअनुसार राहत तथा उद्धार कार्यलाई अघि बढाउन निर्देशन दिनुभएको थियो।