काठमाडौं, भदौ २७ । नेकपा (एमाले) का नेता खिमलाल भट्टराईले संसद् पुनर्स्थापनाको विषयमा भइरहेको बहसलाई व्यर्थको बहसको संज्ञा दिँदै पार्टी अहिले जनतामाझ फर्किएर पुनर्जागरण र स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले चुनावमा सहभागी भई पराजय भोगिसकेपछि फेरि पुरानै संसद् पुनर्स्थापनाको माग गर्नु नैतिक दृष्टिकोणबाट समेत उपयुक्त नहुने बताउनुभयो। उहाँले यस्तो विषय जिम्मेवार राजनीतिक शक्तिलाई नसुहाउने र पार्टीको केन्द्रीय कमिटीमा समेत गम्भीर बहसको विषय बन्न नसक्ने टिप्पणी गर्नुभयो।
भट्टराईले नेतृत्वले चाहेमा विषयले औपचारिकता पाउन सक्ने भए पनि त्यसले पार्टीलाई जनताबाट अझ टाढा धकेल्ने खतरा रहेको उल्लेख गर्नुभयो। उहाँले विगतमा संसद्, सरकार र सत्ता सबै साथमा हुँदा पनि जनताका मुद्दामा अपेक्षित काम गर्न नसकिएको स्मरण गर्दै अहिले पुराना बहसमा अल्झिनु उपयुक्त नहुने धारणा राख्नुभयो। ‘हिजो संसद्, सरकार, सत्ता सबै साथमा हुँदा त मुद्दाहरूमा खासै केही गर्न सकिएन, अहिले त धेरै टाढा छौँ, व्यर्थको झमेलातिर नलागौँ’, उहाँको सुझाव छ ।
उहाँले अहिले सबै शक्ति एमालेको विरुद्ध भएकोले एमाले जनताको बिचमा पुगेर सबै खालका आरोप र भ्रम चिर्न केन्द्रित हुनु पर्ने बताउनुभयो । “मुर्छित एमालेलाई ब्युँझाउन कसैले एकमुठी पानी छम्किनेवाला छैन, अरूबाट भ्रमित नबनी जनतातिर फर्किनुपर्छ, हाम्रो सफलता त्यहीँ छ,” भट्टराईको भनाइ छ ।
उहाँले एमाले अहिले आत्मसमीक्षा, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने बताउँदै स्थानीय तह निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।
एमाले सचिव महेश बस्नेतले एमालेले संसद् पुनर्स्थापन मुद्दा उठाउनु पर्ने अभिव्यक्ति दिए पछि भट्टराईको यो प्रतिक्रिया आएको हो । बस्नेतले गत भदौ २३ र २४ को हिंसा पछि संसद् अपदस्त गरिएकोले पुनर्स्थापना हुनु पर्ने धारणा राख्नु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्