जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार १०:३८

एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै, प्रतिवेदनमाथि छलफल हुने


काठमाडौं, भदौ २७ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। कार्यदलले तयार पारेका प्रतिवेदनमाथि आजको बैठकमा थप छलफल हुने भएको हो।

एमाले सचिव तथा कार्यदलका सदस्य महेश बस्नेतका अनुसार आजको बैठकमा कार्यदलको प्रतिवेदनका विषयवस्तुमाथि छलफल गरिनेछ।

कार्यदलका संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेकाे थियो। उक्त बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका तर्फबाट तयार पारिएका छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएका थिए। त्यस पछि अध्ययनकाे लागि समय दिइएकाे थियाे । 

आज हुने आवासीय बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका विषयवस्तुमाथि छलफल गर्ने तथा आवश्यकताअनुसार परिमार्जन गर्दै एउटै प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको बताइएको छ।

कार्यदलले निर्वाचनमा पार्टीको अवस्था, कमजोरी तथा आगामी दिनमा पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउने उपायसहितका विषयमा समीक्षा गरिरहेको छ। आजको बैठकले दुवै प्रतिवेदनका सुझाव र निष्कर्षलाई समेटेर साझा प्रतिवेदन तयार गर्ने दिशामा थप छलफल अघि बढाउने अपेक्षा गरिएको छ।