रामेछाप, भदाै २७ । भदौ १० गते भोटेकोशीमा आएको त्यो भीषण बाढीले ङिमा शेर्पालाई मात्र परिवारबाट खोसेन, उहाँकी आमाको जीवनको सहारा पनि खोसिदियो। छोराको जीवित अनुहार फेरि देख्न नपाएको पीडाले थलिएकी आमा डोल्मा याङ्जी शेर्पाले केही दिनमै आफूलाई पनि संसारबाट टाढा लैजानुभयो।
उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पा आफ्नो परिवारको भविष्य बनाउन हाइड्रोपावरमा श्रम गर्दै आउनुभएको थियो। गाउँनजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि रोजगारीकै सिलसिलामा उहाँ रसुवा पुग्नुभएको थियो। उहाँका दाजु दोर्जे पनि हाइड्रोपावर क्षेत्रमा नै कार्यरत हुनुहुन्थ्यो।
तर भदौ १० गतेको भोटेकोशी बाढीले परिवारको त्यो सामान्य जीवन एकैछिनमा तहसनहस पारिदियो। हाइड्रोपावर कम्पनीको कम्पाउन्डभित्र काम गरिरहनुभएका ङिमा बाढीमा बेपत्ता हुनुभयो।
छोरा हराएको खबर सुनेपछि ५८ वर्षीया आमा डोल्मा याङ्जी छोरालाई खोज्न काठमाडौँ पुग्नुभयो। मनमा एउटै आशा थियो-सायद छोरा कतै जीवित हुनुहुन्छ, सायद उहाँलाई भेटेर घर फर्काउन सकिन्छ।
तर काठमाडौँ पुगेकी आमाको हातमा छोरा भेटिएको खुसी होइन, छोरा अब जीवित नरहेको खबर थमाइयो। छोरालाई भेट्ने आशा बोकेर घरबाट निस्कनुभएकी आमालाई अन्ततः छोराको मृत्युको खबर बोकेर फर्कनुपर्यो।
त्यो क्षण कति पीडादायी थियो होला, जसले जीवनभर छोराको अनुहार हेरेर बाँच्नुभएकी आमालाई आफ्नै सन्तानको अन्तिम संस्कारबारे सोच्न बाध्य बनायो।
ङिमा डोल्मा याङ्जीका माइलो छोरा हुनुहुन्थ्यो। आमाकै साथमा रहनुभएका छोरालाई गुमाउँदा डोल्मा याङ्जीको मनले त्यो पीडा धान्न सकेन।
घर फर्किएपछि उहाँ निकै विक्षिप्त बन्नुभएको परिवारजन बताउँछन्। भदौ १६ गते रातिसम्म उहाँले छोरा ङिमाको अन्तिम संस्कार कसरी गर्ने भन्ने विषयमा अर्का छोरा दोर्जे र आफन्तसँग छलफल गर्नुभएको थियो। तर त्यो रात परिवारका लागि अन्तिम रात बन्न पुग्यो।
आफूले लगाएका सबै गरगहना घरमै सुरक्षित छाडेर उहाँ मध्यरातमा घरबाट निस्कनुभयो। हातमा एउटा टर्च लाइट थियो। अँध्यारो रातमा त्यो सानो उज्यालोको सहारामा निस्कनुभएकी डोल्मा याङ्जी त्यसपछि परिवारको सम्पर्कमा आउनुभएन।
भोलिपल्ट बिहानै परिवार र आफन्तले खोजी सुरु गर्नुभयो। गाउँलेहरू पनि खोजीमा जुट्नुभयो। आमाको खोजीमा सम्भावित ठाउँहरू चहारिए, तर कतै भेटिनुभएन। छोराको बिछोडमा आँसु सुक्न नपाउँदै परिवारले फेरि आमाको खोजी गर्नुपर्यो।
करिब पाँच दिनसम्मको अथक खोजीपछि अन्ततः डोल्मा याङ्जी बसोबास गर्दै आएको स्थानभन्दा निकै टाढा खोलामा मृत अवस्थामा फेला पर्नुभयो।
एकातिर बाढीमा बेपत्ता भएका ङिमा, अर्कोतिर केही दिनमै आमाको दुःखद मृत्यु- एउटै परिवारले यति छोटो अवधिमा भोग्नुपरेको यो दोहोरो वियोगले आफन्त र स्थानीयलाई स्तब्ध बनाएको छ।
छोराको मृत्युको खबर सुनेर काठमाडौँबाट फर्कनुभएकी आमाले केही दिनमै आफैँ पनि संसार छाड्नुभएपछि परिवारमा शोकमाथि शोक थपिएको छ। एउटा पीडा बाेकेकाे परिवारले अर्को पीडाकाे पनि आँसु झार्नुपरेको छ।
उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित तेछीमकी डोल्मा याङ्जी लामो समयदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ किन्जामा बस्दै आउनुभएको थियो। उहाँको शव सोलुखुम्बुतर्फ पर्ने खोलामा भेटिएपछि पोस्टमार्टमका लागि सदरमुकाम सल्लेरी लगिएको थियो।
पोस्टमार्टमपछि सल्लेरीस्थित शेर्पा समुदायको परम्परा अनुसार अन्तिम संस्कारस्थलमा उहाँको अन्त्येष्टि गरियाे । डोल्मा याङ्जीको अन्तिम संस्कार सकिए पनि उहाँका परिवारजनका लागि त्यो पीडाको अन्त्य भने होइन। एउटै परिवारका दुई सदस्य केही दिनकै अन्तरालमा गुमाउँदाको घाउ लामो समयसम्म निको पीडा बनेर बस्ने भएकाे छ ।
भोटेकोशीको बाढीले एउटा परिवारबाट एक छोरा खोस्यो। तर त्यो बिछोडको चोट यति गहिरो बन्यो कि आमाले समेत जीवन त्याग्नुभयो।
अब त्यो घरमा ङिमाको आवाज सुनिने छैन, आमाको ममताले बोलाउने स्वर पनि सुनिने छैन। बाँकी रहनेछन् त केवल सम्झना, आँसु र कहिल्यै पूरा नहुने दुईवटा अभाव।














प्रतिक्रिया दिनुहोस्