जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार ११:२८

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते


काठमाडौं, भदौ २७ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुवै जनाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।