जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार २०:४३

सञ्चारमन्त्री र पत्रकार महासंघ अध्यक्षबीच भनाभन, मन्त्रीले होस गुमाउँदा अध्यक्ष शर्माले फर्काइन् कठोर जवाफ


काठमाडौं, भदौ २५ । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिना र नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माबीच मन्त्रालयमै भनाभन भएको छ ।

पत्रकारमाथि खनिएको सरकारको गलत र निरंकुश कदम सच्याउनुपर्ने मागसहित ज्ञापनपत्र लिएर गएको पत्रकार टोलीमाथि सञ्चारमन्त्री तिमल्सिनाले आपत्तिजनक आक्षेप लगाएपछि अध्यक्ष शर्माले जवाफ फर्काउँदा भनाभन भएको हो ।

महासंघ अध्यक्ष शर्मा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका महासंघ पदाधिकारीसहित ज्ञापनपत्र बुझाउन बिहीबार दिउँसो मन्त्रालय जानुभएको थियो । ज्ञापनपत्र बुझेपछि सञ्चारमन्त्री तिमल्सिना एक्कासी आक्षेपमा उत्रदा माहोल बिग्रिएको सहभागी एक पत्रकारले जनताटाइम्स डटकमलाई जानकारी दिनुभयाे ।

उहाँका अनुसार मन्त्री तिमल्सिनाले ‘मलाई थाह छ पत्रकार महासंघको नाममा दलको राजनीति गर्न आएको भन्ने’ भन्दै पत्रकार र महासंघमाथि नै निकै आपत्तिजनक आक्षेप लगाउनु भएको थियो । मन्त्रीले दलका झोलेदेखि राजनीति गर्नेहरू भन्न थालेपछि महासंघ अध्यक्ष निर्मला शर्माले तत्कालै प्रतिवाद गर्नुभएको थियो ।

‘तपाईंले भन्न खोजेको के हो ? आक्षेप लगाउने ? भन्दै शर्माले महासंघमाथि राजनीतिक बिल्ला भिराउने ?’ भन्दै अध्यक्ष शर्माले प्रतिवाद गर्नुभएको थियो । शर्माले अगाडि थप्नुभयो, ‘प्रेस काउन्सिलमा तपाईंले नियुक्ति दिएको चाँहि कुन दलको झोलो हो ? त्यो राजनीतिक नियुक्ति हो कि होइन ? के योग्यता देखाउनु हुन्छ ?’

सामान्यतया आफूले नगरेको काम र नभएको कुरामा आक्षेप लगाए सिधै झम्टिने स्वभावकी अध्यक्ष निर्मलाले मन्त्रीको आक्षेपलाई ठूलै आवाजमा प्रतिवाद गरेपछि अन्यले सम्हालेका थिए । नहुने कुरा गर्दा सधै बिच्किने र आरोपको ठाउँका ठाउँ प्रतिवाद गर्ने शैलीकी शर्माले रुखो स्वरमै जवाफ फर्काएपछि भने मन्त्रीले गल्ती महसुश गर्नुभएको थियो । त्यसपछि स्थिति सम्हालिन पुगेको हो ।

सरकारले नियत नै खराब राखेर छापा सञ्चारमाध्यमको संरक्षण तथा प्रवर्धन र लोककल्याणकारी विज्ञापनमा सरकारले ल्याएको विभेदकारी नीति सच्याउनु पर्ने मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरू बिहीबार सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनालाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन मन्त्रालय गएको थियो ।