जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार २०:५४

सिरहामा आफ्नै कार्यकर्ताबाट लखेटिए शिक्षा मन्त्री सस्मित पोखरेल, भ्रम फैलाइयो भन्दै गरे प्रतिवाद


काठमाडौं, भदौ २७ । संघीय सरकारका शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल सिरहामा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताबाट लखेटिएका छन् । 

औरही गाउँपालिकामा आयोजित शिक्षा सम्बन्धी कार्यक्रममा मन्त्री पोखरेल बोलिरहेका बेला स्थानीय नेता–कार्यकर्ताले विरोध जनाएपछि कार्यक्रमस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको हो । त्यस पछि पाेखरेलले कार्यक्रमस्थल छाडेर भाग्नु भएकाे थियाे । 

औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सिरहा पुग्नुभएको थियो । तर, कार्यक्रम आयोजना गर्दा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको र पार्टीका नेता–कार्यकर्तालाई नै उपेक्षा गरिएको भन्दै स्थानीय नेताहरूले असन्तुष्टि जनाएपछि विवाद चर्किएको बताइएको छ ।

कार्यक्रममा सिरहाबाट प्रतिनिधित्व गर्ने दुई जना प्रतिनिधिसभा सदस्यसमेत सहभागी हुनुभएको थियो । तर, स्थानीय पार्टी नेतृत्वसँग आवश्यक समन्वय नगरिएको भन्दै नेता–कार्यकर्ताले प्रश्न उठाएका थिए ।

विवाद त्यतिबेला थप चर्किएको बताइएको छ, जतिबेला औरही गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पत्रकार सन्तोषकुमार यादवलाई कार्यक्रममा आसन ग्रहणका लागि स्थान नदिइएको विषय उठेको थियो । यादवले कार्यक्रमको भिडियो खिचिरहेका बेला मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा उहाँको मोबाइल खोस्ने प्रयास गरेको स्थानीयको दाबी छ ।

कार्यक्रममा सहभागी हुन आएका केही नेता–कार्यकर्तालाई समेत मन्त्रीका पीए तथा पीएसओको प्रयोग गरी बाहिर निकाल्न खोजिएको थियो । स्थानीय पार्टी नेतृत्वमाथि अपमानजनक व्यवहार गरिएको भन्दै स्थानीय नेताहरुले कार्यक्रममा आपत्ति जनाउनुभएको थियाे ।

कार्यक्रममा भिडियो खिच्न रोक लगाइएको भन्दै सभापति यादवले विरोध जनाउँदै बोल्न थालेपछि अन्य नेता–कार्यकर्ताले समेत उहाँको समर्थन गरेका थिए । त्यसपछि कार्यक्रमस्थलमा होहल्ला भएको र अवस्था असहज बनेपछि मन्त्री पोखरेल कार्यक्रमस्थलबाट बाहिरिनुभएको थियाे । 

मन्त्री पोखरेलको दाबी– ‘छोटो भिडियो काटेर भ्रम फैलाइयो’

घटनापछि मन्त्री पोखरेलले भने आफूविरुद्ध नियोजित रूपमा अफवाह फैलाउने प्रयास भएको दाबी गर्नुभएको छ ।

मन्त्री पोखरेलका अनुसार आफूहरू मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसमा पुगेर राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव सङ्कलन गरिरहनुभएको छ ।

उहाँले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता अवधारणाका विषयमा समेत प्रत्यक्ष रूपमा सरोकारवालासँग संवाद भइरहेको बताउनुभएको छ ।

सिरहा र सप्तरीमा १०० भन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रिया आयोजना गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले दुई जना व्यक्तिले आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको स्पष्ट पार्नुभएको छ ।

उहाँले घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने प्रयास भएको दाबी गर्नुभएको छ । ‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ’ भन्ने धारणा राख्दै मन्त्री पोखरेलले पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने बताउनुभएको छ ।

विवादपछि पनि शिक्षा सुधार अभियान नरोकिएको दाबी

मन्त्री पोखरेलले विवादका कारण आफ्नो शिक्षा सुधारसम्बन्धी अभियान प्रभावित नभएको बताउनुभएको छ । घटनापछि समेत सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरिएको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको छ । आगामी दिनमा सप्तरी हुँदै मोरङ जाने कार्यक्रम रहेको पनि उहाँले बताउनुभएको छ ।

मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव तथा शिक्षाको क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि भएकै कारण भ्रम फैलाउने प्रयास भएको हुन सक्ने मन्त्री पोखरेलको दाबी छ ।

उहाँले आफूहरू ‘राजनीतिक स्टन्ट’ वा हल्ला गर्न नभई शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले प्रत्यक्ष रूपमा समुदायमा पुगेको बताउनुभएको छ ।

‘हल्लाभन्दा काम ठूलो हो’ भन्दै मन्त्री पोखरेलले आफ्नो काम र नियतको मूल्याङ्कन जनताले नै गर्ने बताउनुभएको छ ।