जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार २१:१६

वाणगंगा नदीमा फसेका दुई बालकमध्ये एकको सकुशल उद्धार, एक बेपत्ता


कपिलवस्तु, भदौ २७ । कपिलवस्तुको वाणगंगा नदीमा पौडी खेल्ने क्रममा नदीको बहाव बढेपछि टापुमा रहेको रुखमा चढेर फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

वाणगंगा नगरपालिका–४ स्थित मायादेवी रंगशालाको पूर्वतर्फ करिब एक किलोमिटर दक्षिणमा रहेको वाणगंगा नदीमा पौडी खेल्न गएका वाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बीचमा रहेको टापुमा फसेका थिए ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट उद्धार सामग्रीसहित प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा सुरक्षा बेस पिपराबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले रबर बोटको प्रयोग गरी १६ वर्षीय रिदम लामालाई सकुशल उद्धार गरेको नेपाल प्रहरीले जनाएकाे छ ।

तर, १० वर्षीय बुद्ध लामा भने उद्धार टोली घटनास्थल पुग्दा फेला नपरेको प्रहरीले जनाएको छ । उनी नदीको बहावसँगै बगेको हुन सक्ने आशंकामा सुरक्षाकर्मीको टोलीले खोजी कार्य जारी राखेको छ ।

बेपत्ता बालकको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली नदी आसपासका क्षेत्रमा परिचालन गरिएको छ । नदीको बहाव तीव्र रहेकाले उद्धार तथा खोजी कार्यमा चुनौती रहेको बताइएको छ ।