जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार २१:३९

बाढी-पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी : ४ हजार १५७ जनाको हवाई उद्धार, सुरुङभित्र खोजी कार्य जारी


काठमाडौं, भदौ २७ । बाढी-पहिरोबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेकाे छ । नेपाली सेनाका अनुसार शनिबार साँझसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई माध्यमबाट थप २० जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको खोज तथा उद्धारसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म हवाई साधनमार्फत ४ हजार १५७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ८७४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन् ।

बाढीपहिरोबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङहरूमा समेत संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ ।

रसुवागढी जलविद्युत आयोजनामा नेपाली तथा विदेशी जनशक्ति सम्मिलित संयुक्त खोज तथा उद्धार टोलीले खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ ।

लाङटाङ जलविद्युत आयोजनामा खटिएको संयुक्त टोलीले सुरुङभित्रको सम्पूर्ण क्षेत्रमा खोजी गरे पनि हालसम्म कुनै व्यक्ति वा अन्य सामग्री फेला नपरेको बताइएको छ ।

चिलिमे हाइड्रोमा भने स्याफ्रुबेसीदेखि सुरुङसम्म भारी उपकरण लैजान करिब १ हजार ५० मिटर बाटो निर्माण गरिएको छ । सुरुङभित्र आवतजावत गर्न चारवटा ६/६ मिटर लम्बाइका ठूला पाइप प्रयोग गरी बाटो तयार गर्ने काम भइरहेको छ ।

सुरुङभित्र एक्स्काभेटर प्रयोग गरी करिब ६५ मिटरसम्म जमेको लेदो हटाइएको र थप खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली–१ अन्तर्गत हाकुबेशीस्थित ‘अडिट–३’ सुरुङमा पनि नेपाली सेनासहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ । त्यस्तै, त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा सुरुङ क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ भने त्रिशूली–३ ‘बी’ आयोजनाको क्षेत्रमा उत्खनन कार्य जारी रहेको छ ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका विभिन्न प्रभावित क्षेत्रमा ८ हजार ८ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन् ।

परिचालित जनशक्तिले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा सहयोग र आपत्कालीन उपचारलगायतका काम गरिरहेको सेनाले जनाएको छ ।

रसुवा र नुवाकोटका त्रिशूली नदी आसपासका पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायतका क्षेत्रमा समेत सुरक्षाकर्मीले पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेका छन् ।

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

शनिबार मात्रै ती केन्द्रबाट ५५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । हालसम्म उक्त सेवाबाट ३ हजार ७२० जना लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र स्वास्थ्य उपचारलाई पनि समानान्तर रूपमा अघि बढाइएको छ । सुरुङ तथा नदी आसपासका जोखिमपूर्ण क्षेत्रमा भने सुरक्षा सावधानी अपनाउँदै संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।