काठमाडौं, भदौ २८ । हरितालिका (तीज) पर्व आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । तीजको व्रत बस्ने महिलाले शक्ति सञ्चयका लागि आज साँझ दर खाने चलन छ ।
भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरमा विशेषगरी दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिलो खानेकुरा खाने गरिन्छ । भोलिपल्ट हरितालिका तीजको निराहार व्रत बस्ने भएकाले त्यसको पूर्वसन्ध्यामा दर खाने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार दर राति दुई प्रहर बित्नुअघि नै खाइसक्नुपर्ने शास्त्रीय विधान छ । तीजको व्रत निराहार बस्ने भएकाले अघिल्लो दिन आडिलो खानेकुरा खाएर व्रतका लागि तयारी गर्ने परम्परा रहेको उहाँ बताउनुहुन्छ ।
तीजमा माइती तथा दाजुभाइले छोरी, चेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने चलन छ । महिलाले तीजका गीत तथा भेटघाटका माध्यमबाट वर्षभरिका सुखदुःख, पीरमर्का र अनुभव साट्ने गरेका छन् ।
तर पछिल्ला वर्षमा तीजको नाममा बढेको तडकभडक र उच्छृङ्खलताप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । एक महिनाअघिदेखि नै दर खाने, गरगहना तथा महँगा पोसाक प्रदर्शन गर्ने प्रवृत्तिले तीजको मौलिक संस्कृति प्रभावित भएको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ ।
संस्कृतिविद् तथा धर्मशास्त्रीहरूले तीजको सांस्कृतिक पक्षलाई जोगाउँदै अनावश्यक तडकभडक र प्रतिस्पर्धा रोक्नुपर्नेमा जोड दिएका छन् । नागरिकको करबाट सञ्चालित सरकारी कार्यालयमै लामो समयअघि तीज कार्यक्रम आयोजना गरी तडकभडक गर्ने प्रवृत्ति पनि रोक्नुपर्ने उनीहरूको भनाइ छ ।
चार दिनसम्म मनाइने तीजमा भोलि भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत बसिन्छ । चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ ।
तीजको धार्मिक मान्यता सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गरेको तपस्या र व्रतसँग जोडिएको छ । पिता हिमालयले आफ्नो इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीलाई उनका साथीहरूले हरण गरेर सुरक्षित स्थानमा लगेका र त्यहीँ उनले महादेव प्राप्तिका लागि निराहार व्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख छ ।
त्यसैको सम्झनामा भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्ने परम्परा रहेको धर्मशास्त्रीय मान्यता छ । तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गर्छ ।
पछिल्लो समय तीज नेपालबाहिर पनि मनाउन थालिएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको विस्तारसँगै भारतलगायत विभिन्न देशमा रहेका नेपाली समुदायले समेत तीज मनाउने गरेका छन् ।
तीजसँगै नेपाली समाजमा दसैँ र तिहारजस्ता ठूला पर्वको माहोलसमेत सुरु हुने गर्छ ।














प्रतिक्रिया दिनुहोस्