काठमाडौं, भदौ २८ । नेकपा एमालेका केन्द्रीय नेताहरू निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको आवासीय बैठकका लागि काभ्रेको पनौतीमा पुग्नुभएको छ। शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकपछि नेताहरू शनिबार बेलुकादेखि पनौतीमा आवासीय बैठकमा जुट्नुभएको हो।
उहाँहरू पनौती नगरपालिका–११, बल्थलीस्थित एक होटलमा बसिरहनुभएको छ। नेताहरूको बसोबास तथा बैठकको सम्पूर्ण व्यवस्थापन एमाले केन्द्रीय कार्यालयले गरेको जनाइएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पार्टीको नेतृत्व, संगठन र कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै एमालेले गत वैशाखमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो।
कार्यदलले निर्वाचनमा पार्टीको अवस्था, संगठनात्मक कमजोरी तथा आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाउने उपायबारे विभिन्न तहमा छलफल गरी सुझाव संकलन गरेको थियो। जेठ ३० गतेदेखि सुरु भएको सुझाव संकलन असार २३ गते सम्पन्न भएको थियो।
कार्यदलको असार २५ गते बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। सोहीअनुसार महासचिव पोखरेलले तयार पार्नुभएको प्रतिवेदन शुक्रबार बसेको कार्यदल बैठकमा प्रस्तुत गरिएको थियो। त्यसैगरी उपाध्यक्ष थापाको तर्फबाट तयार पारिएको छुट्टै प्रतिवेदनसमेत बैठकमा पेश भएको थियो।
दुवै प्रतिवेदनमाथि आवश्यक अध्ययन र छलफल गर्नुपर्ने भएपछि शुक्रबारको बैठक शनिबार बेलुका पुनः बस्ने गरी स्थगित गरिएको थियो। त्यसकै निरन्तरताका रूपमा कार्यदलका सदस्यहरू पनौतीमा आवासीय बैठकमा सहभागी हुनुभएको हो।
बैठकमा निर्वाचनपछि पार्टीले लिनुपर्ने राजनीतिक तथा संगठनात्मक दिशा, नेतृत्व र कार्यशैलीमा गर्नुपर्ने सुधार, संगठन पुनर्गठन तथा निर्वाचनबाट प्राप्त सुझावलाई पार्टीको आगामी कार्यदिशासँग कसरी जोड्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।
कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाललगायत नेताहरू सदस्य हुनुहुन्छ। साथै नौवटै प्रदेशका इन्चार्जसमेत कार्यदलमा सदस्य रहनुभएको छ।
एमालेले सात भौगोलिक प्रदेशसँगै राजधानी, सम्पर्क मञ्च, केन्द्रीय आयोग, विभाग, सल्लाहकार परिषद्, प्रवास तथा जनसंगठनलगायत पार्टीका विभिन्न निकायमा छलफल गरी सुझाव संकलन गरेको थियो।
महासचिव पोखरेलले सोही सुझावका आधारमा प्रतिवेदन तयार पार्नुभएको हो। तर, प्रतिवेदन पारित गर्ने चरणमा उपाध्यक्ष थापाको तर्फबाट समेत छुट्टै प्रतिवेदन प्रस्तुत भएपछि दुवै दस्तावेजमाथि थप छलफल गर्नुपर्ने अवस्था आएको हो।
पनौतीमा जारी आवासीय बैठक आज दिनभर सञ्चालन हुने र आवश्यक छलफल टुंग्याएर मात्रै बैठक सकिने बताइएको छ। दुई छुट्टाछुट्टै प्रतिवेदन आएपछि पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे नेताहरूबीच हुने छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।














प्रतिक्रिया दिनुहोस्