जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार ०८:४३

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, १५औँ महाधिवेशनबारे छलफल हुने


काठमाडौं, भदौ २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ । बैठकमा महाधिवेशनको तयारी, प्रक्रिया तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने बताइएको छ ।

कार्यवाहक मुख्यसचिव दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

कांग्रेसले आगामी महाधिवेशनका लागि आवश्यक तयारी अघि बढाइरहेका बेला केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकमा महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।