जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार १४:१४

सरकार मिडियाको आवाज बन्द गरेर अधिनायकवादतर्फ अघि बढ्याे : प्रदीप ज्ञवाली


काठमाडौं, भदौ २८ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सञ्चारमाध्यममाथि गरिने कुनै पनि प्रकारको नियन्त्रण तथा विज्ञापन कटौती लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताउनुभएको छ।

शनिबार लोककल्याणकारी विज्ञापन कटौतीको सरकारी निर्णयकाे विरुद्ध एमाले पार्टी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउन गएका पत्रकारलाई सम्बोधन गर्दै उहाँले सञ्चारमाध्यमले जस्तोसुकै परिस्थितिमा पनि स्वतन्त्र रूपमा बोल्न र लेख्न पाउनुपर्ने धारणा राख्नुभएको हो।

ज्ञवालीले राजनीतिक दलहरू प्रतिबन्धित रहेको समयमा पनि दलका गतिविधि र समाजमा भइरहेका परिवर्तन जनतासम्म पुर्‍याउन पत्रकारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो। पछिल्लो समय सञ्चार क्षेत्र उद्योगका रूपमा अघि बढे पनि साना सञ्चारमाध्यमको अस्तित्व र भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो। “सूचना लुक्न नदिन सञ्चारमाध्यममा विविधता आउनुपर्छ। साना–ठूला सबै सञ्चारमाध्यमले स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ भन्ने एमालेको मान्यता हो,” उहाँले भन्नुभयो।

सरकारले पछिल्लो समय गरेका निर्णयबाट सञ्चार क्षेत्रमा परेको प्रभावबारे एमाले जानकार रहेको उहाँले बताउनुभयो। लोककल्याणकारी विज्ञापन निष्पक्ष र भेदभावरहित ढंगले उपलब्ध गराइनुपर्ने तथा विज्ञापन क्षेत्रमा रहेको एकाधिकार अन्त्य हुनुपर्ने पक्षमा एमाले रहेको उहाँको भनाइ थियो।

ज्ञवालीले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाउनुभयो। “यो विज्ञापन बन्द गर्ने कुरा मात्र होइन, अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास हो,” उहाँले भन्नुभयो।

उहाँले जनताको स्वतन्त्र आवाज बन्द गरेर भयको राज्य निर्माण गर्न खोजिएको आरोप लगाउँदै राजनीतिक दल तथा पेसागत संगठनहरूलाई समेत निषेध गर्ने प्रयास भइरहेको बताउनुभयो। सामाजिक सञ्जालमार्फत महिलालाई बलात्कार गर्ने धम्की दिइनेजस्ता घटना बढिरहेको उल्लेख गर्दै उहाँले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अझ महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। “जस्तोसुकै अवस्थामा सञ्चारमाध्यमले बोल्न र लेख्न पाउनुपर्छ। त्यसो गर्दा मात्र लोकतन्त्र जीवन्त हुन्छ,” ज्ञवालीले भन्नुभयो।

नेपाल पत्रकार महासंघले उठाएको विषयमा नेकपा एमालेको साथ र समर्थन रहेको उहाँले स्पष्ट पार्नुभयो। लोककल्याणकारी विज्ञापनको रकम कटौतीलगायत विषयमा एमालेले संसददेखि सडकसम्म आवाज उठाउने उहाँको भनाइ थियो।

ज्ञवालीले मौनतामार्फत अधिनायकवादी शासनलाई वैधता दिने प्रयासस्वरूप सञ्चारमाध्यममाथि आक्रमण गरिएको दाबी गर्दै त्यसलाई लोकतन्त्रमाथिकै सुनियोजित आक्रमणका रूपमा लिनुपर्ने बताउनुभयो।